सिन्धुपाल्चोक ।
बासी खाना खुवाएको विवादपछि प्रहरी सेवाबाट बर्खास्त गरिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत भान्से शंकर कार्कीलाई पुनर्बहाली गर्ने आश्वासन प्रहरीले दिएको छ।


जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी रामेश्वर कार्कीले कार्की र उनको परिवारसँग छलफल गर्दै एक साताभित्र सेवामा पुनर्बहाली गराइने आश्वासन दिएका हुन्। छलफलमा चौतारा साँगाचोकगढी नगरपालिकाकी कार्यपालिका सदस्यसमेत रहेकी कार्कीकी भाउजू खिलकुमारी कार्की पनि सहभागी थिइन्।
“दुवै पक्षबाट गल्ती भएको स्वीकार गर्दै एसपी साबले एक साताभित्रै सेवामा फर्काइने आश्वासन दिनुभयो,” परिवारले बताए।
भान्से कार्कीले पनि आफूलाई बोलाएर पुनर्बहालीको आश्वासन दिएको पुष्टि गरेका छन्।
तर, एसपी रामेश्वर कार्कीले भने यस विषयमा डीआइजीसँग कुरा गर्नुपर्ने भन्दै प्रत्यक्ष प्रतिक्रिया दिन चाहेनन्।
शंकर कार्कीले प्रहरी सेवाबाट बर्खास्तीमा परेपछि केही दिनअघि बागमती प्रदेश प्रहरी कार्यालयमा पुनरावेदन दिएका थिए।
यसअघि कार्कीलाई बासी भात खुवाएको आरोपमा प्रहरी अधिकारीहरूले कुटपिट गरेका थिए। डीएसपी माधवराज खरेल र प्रहरी निरीक्षक रुपेश शाहले कुटपिट गरी कार्कीलाई सेवाबाटै बर्खास्त गरिएको थियो।





