कोहलपुर,बाँके। डीएसपी लक्ष्मी खनाल नेतृत्वको प्रहरी टोलिले ठूलो मात्रामा लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार हिजो सनिवार बेलुकी करिब ४ बजेतिर बाँके जिल्ला, नेपालगञ्ज उपमहानगरपालिका–२० राझा क्षेत्रमा शंकास्पद रुपमा हिँडिरहेका एक युवकलाई रोकि चेकजाँच गर्दा उक्त लागूऔषध बरामद भएको हो।


नियन्त्रणमा परेका व्यक्ति जुम्ला जिल्ला, सिंजा गाउँपालिका–७ बस्ने २५ वर्षीय नवीन तिवारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले चेकजाँच गर्दा तिवारीले बोकेको Royal Gurkha लेखिएको हाते झोलाभित्र रातो प्लास्टिकमा लुकाइ–छिपाइ राखेको ७८ पत्ता (प्रत्येकमा १० वटा) गरी कुल ७८० ट्याब्लेट नाइट्रोजेपाम फेला परेको हो।
त्यसैगरी, उनको साथबाट सामसुङ कम्पनीको मोबाइल १ थान, सिमकार्ड नभएको मोटोरोला टच मोबाइल १ थान पनि बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषध र मोबाइलसहित तिवारीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।





