काठमाडौं। इम्बोस्ड नम्बर प्लेट जडानको विरोध चर्किएसँगै यातायात व्यवस्था विभागमा सुरक्षा व्यवस्था कडा पारिएको छ।


मिनभवनस्थित विभागको कार्यालयमा हाकिमलाई मोसो दलेर दुर्व्यवहार गर्ने तयारी गरिएको हल्ला फैलिएपछि गेटदेखि महानिर्देशकको कार्यकक्षसम्म प्रहरी तैनाथ गरिएको हो। अहिले विभाग परिसरमा जनपथ प्रहरी र सशस्त्र प्रहरी दुबै परिचालन गरिएको छ।
‘महानिर्देशक सरको निर्देशनअनुसार आज गेटबाट भित्र प्रवेश गर्न कडाइ गरिएको हो,’ एक प्रहरी अधिकारीले जानकारी दिए। तर, कडाइ गर्ने विशेष कारणबारे उनले विस्तृत खुलाउन चाहेनन्। अत्यावश्यक लाइसेन्स प्रिन्टका लागि आउने सेवाग्राहीलाई भने कामको विवरण स्पष्ट गरेपछि मात्र भित्र प्रवेश दिइएको छ।
यसबीच विभागमा महानिर्देशकसहित कर्मचारीहरूको बैठक बसिरहेको छ।
हाल इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी सरकारी निर्णयविरुद्ध चौतर्फी विरोध भइरहेको छ। विभागले भने जडान अनिवार्य भए पनि तत्काल नगरे जरिवाना वा दण्ड हुने भ्रम फैलाइएको भन्दै स्पष्टिकरण दिएको छ।





