Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

मुगुको सोरु गाउँपालिका–३ भिईमा फुटबल प्रतियोगिता सुरु हुनुअघि झडप हुँदा धारिलो हतियार प्रयोग भएको छ। शुक्रबार बिहान सात बजेदेखि सुरु गर्ने तयारीमा रहेको खेल उद्घाटनकै क्रममा सामान्य विवाद सुरु भए पनि पछि अवस्था असामान्य बन्दै गएपछि झडपमा परिणत भएको हो।

घटनामा प्रकाश धामी, हिक्मत धामी, प्रकाश कार्की र जीवन धामी गम्भीर घाइते भएका छन्। उनीहरुलाई दिउँसो करिब तीन बजे हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो। हिक्मत जङ्ग धामीको टाउकोमा पाँचवटा, निधारमा तीनवटा र अनुहारमा गहिरो चोट देखिएको छ। जीवन धामीको घाँटीमा चक्कु प्रहार हुँदा भित्र तीनवटा र बाहिर पाँचवटा घाउ बनेको छ भने उनको हातमा पनि पाँचवटा टाँका लगाइएको छ। प्रकाश कार्कीको बाँया हातमा प्रहार हुँदा पाँचवटा टाँका लगाइएको छ। प्रकाश धामी भने सबैभन्दा गम्भीर अवस्थामा छन्। उनको बाँया हात छिनिएकोले न्युरो सर्जरीमार्फत खुट्टाको नसालाई हातमा हालिएको र हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

घाइते हिक्मत जङ्ग धामीले आफू मैदानतिर हिँडिरहेको बेला एक्कासी समूहगत रूपमा आक्रमण भएको बताएका छन्। प्रकाश धामीले भने आफू रेफ्रीको भूमिकामा रहने तयारीमा रहेको बेला विपक्षी समूहले झोलामा धारिलो हतियार बोकेर ल्याई योजनाबद्ध रूपमा आक्रमण गरेको दाबी गरेका छन्।

घटनापछि हिक्मत जङ्ग धामीले जिल्ला प्रहरी कार्यालय मुगुमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी रवि राज थपलियाले जिल्ला अदालत मुगुले आरोपी १० जनालाई पक्राउ गर्ने अनुमति दिएको र उनीहरुको खोजी तीव्र रूपमा भइरहेको बताएका छन्। उनका अनुसार सबै आरोपी फरार छन् तर दसैंपछि कानुनी दायरामा ल्याएर प्रक्रिया अघि बढाइनेछ।

पक्राउ पुर्जी जारी हुनेहरूमध्ये सोरु गाउँपालिका–३ का ४५ वर्षीय डिलबहादुर धामी, २४ वर्षीय बालकर्ण बुढा, २६ वर्षीय रवि धामी, २२ वर्षीय छविराज धामी, २४ वर्षीय मयराज बुमी, २४ वर्षीय रामचन्द्र धामी, २० वर्षीय भाग्य बुमी, १८ वर्षीय हरिबोल धामी, १९ वर्षीय पवन कार्की र २१ वर्षीय सन्देश धामी रहेका छन्।

घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दै प्रहरी पुगेको थियो। प्रहरी प्रवक्ता अच्युत आचार्यका अनुसार यो घटनामा दुई पक्षबीच पहिले नै विवाद रहने गरेको र सामान्य निहुबाट सुरु भएको झडप धारिलो हतियार प्रयोगसम्म पुगेको देखिन्छ। उनका अनुसार पीडित पक्षले मात्र गम्भीर चोट पाएका कारण घटना असामान्य देखिएको हो।

यस घटनाले सो क्षेत्रमा सुरक्षामै प्रश्न उठाएको छ। करिब दुई हजार जनसंख्या भएको उक्त क्षेत्रमा अहिलेसम्म अस्थायी प्रहरी चौकीसम्म स्थापना नगरिनु, प्रहरीलाई समयमै जानकारी नदिनु र स्थानीय स्तरमा सुरक्षा संयन्त्रको कमी हुनु नै बारम्बार घटना हुने प्रमुख कारण भएको स्थानीयवासीले बताएका छन्। उनीहरुले तत्काल त्यहाँ अस्थायी प्रहरी पोष्ट स्थापना गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech