काठमाडौँ । चुनाव बहिष्कारको आह्वान गर्दै काठमाडौँका विभिन्न स्थानमा गरिएको राँके जुलुसमा सहभागी ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
छ वटा कम्युनिस्ट पार्टीले गठन गरेको संयुक्त संघर्ष समितिको आह्वानमा सोमबार साँझ काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गरिएको थियो। प्रदर्शनका क्रममा राँके जुलुस निकालिएको भन्दै प्रहरीले सहभागीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले ३२ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। उनका अनुसार नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, असन र कालिमाटीलगायत स्थानबाट प्रदर्शनकारीलाई पक्राउ गरिएको हो।
यद्यपि संयुक्त संघर्ष समितिले भने पक्राउ पर्नेको संख्या ३२ भन्दा बढी रहेको दाबी गरेको छ।
संघर्ष समितिले मंगलबार काठमाडौँ उपत्यका बन्दको घोषणा गरेको छ। सोही कार्यक्रमको पूर्वसन्ध्यामा राँके जुलुस निकालिएको समितिले जनाएको छ।
सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, महिन्द्र मल्ल नेतृत्वको नेकपा (जनपक्ष), ऋषिराम कट्टेल नेतृत्वको नेकपा, तथा पूर्णबहादुर सिंह ‘समरजंग’ नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपालले केही दिनअघि संयुक्त रूपमा चुनाव बहिष्कार गर्दै आन्दोलनको घोषणा गरेका थिए।
उनीहरूले पुस २९ गते काठमाडौँ उपत्यका बन्दको कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन्।







