बाँके ।फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बाँके क्षेत्र नम्बर १ मा राजनीतिक माहोल तीव्र बन्दै गएको छ। नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादी का जेन्जी पुस्ताका युवा उम्मेदवार दिपक बुढाथोकीको पक्षमा देखिएको जनसमर्थनले यसपटकको चुनावलाई विशेष बनाएको छ। गुलाफको फुल चुनाव चिन्न लिएका बुढाथोकीको घरदैलो कार्यक्रम व्यापक रूपमा सञ्चालन भइरहेका छन्, जहाँ स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति र सकारात्मक प्रतिक्रिया देखिएको बताइन्छ।
विशेषगरी सल्यानी समुदायका मतदाताहरू र जेन्जी पुस्ता खुला रूपमा समर्थनमा उत्रिएको देखिन्छ। विभिन्न टोल–बस्तीमा पुग्दा “अब पुरानालाई होइन, नयाँ युवा नेतृत्वलाई साथ दिनुपर्छ” भन्ने आवाज सुन्न पाइन्छ। धेरै मतदाताले यसपटक परिवर्तनको पक्षमा उभिने वाचा गरिरहेको दाबी गरिएको छ।
दिपक बुढाथोकीले कृषि, श्रम र स्थानीय उत्पादनलाई अर्थतन्त्रको आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। किसानलाई मल–बीउ समयमै उपलब्ध गराउने र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्। कृषि आधारित साना तथा मध्यम उद्योग स्थापना र विस्तारमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने योजना प्रस्तुत गरिएको छ। नेपालगञ्जलाई व्यापार, सेवा र औद्योगिक केन्द्रको रूपमा विकास गर्ने दृष्टिकोण पनि सार्वजनिक गरिएको छ।
युवालाई सीप, उद्यम र स्थायी रोजगारीतर्फ जोड्ने योजना उनका मुख्य एजेन्डामध्ये एक मानिएको छ। IT र डिजिटल सीप तालिम केन्द्र स्थापना, AI, सफ्टवेयर तथा अनलाइन सेवामार्फत घरमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। विद्यालय र कलेजमा IT, कोडिङ र डिजिटल शिक्षाको विस्तारलाई पनि जोड दिइएको छ।
पूर्वाधार विकासका सन्दर्भमा सिँचाइ, सडक, बिजुली, इन्टरनेट र खानेपानीमा गुणस्तरीय पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। शिक्षा र स्वास्थ्य सेवालाई सबै नागरिकका लागि सहज र प्रभावकारी बनाउने योजना प्रस्तुत गरिएको छ। थारु, मुस्लिम लगायत सबै समुदायको समान अधिकार र सहभागिता सुनिश्चित गर्ने अडान सार्वजनिक गरिएको छ। सीमावर्ती क्षेत्रको सुरक्षा र व्यवस्थित आवागमन, भ्रष्टाचारविरुद्ध कडा नियन्त्रण र पारदर्शी शासन, साथै वातावरण, नदी, वन र प्राकृतिक स्रोत संरक्षणलाई समेत प्राथमिकतामा राखिएको छ।
बाँके–१ मा अहिले चुनावी प्रतिस्पर्धा मात्र होइन, पुस्तान्तरणको बहस पनि चर्किएको छ। मतदाताहरूको एक हिस्सा नयाँ सोच र नयाँ ऊर्जासहितको नेतृत्व चाहिरहेको बताइन्छ। फागुन २१ को निर्वाचनले बाँके–१ को राजनीतिक दिशामा कस्तो मोड ल्याउँछ भन्ने चासो बढ्दो छ ।







