कोहलपुर, फागुन १४, २०८२ — प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. १ मा सक्रिय रूपमा चुनावी अभियान सञ्चालन गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी र उम्मेदवारविरुद्ध फैलाइएका भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टी निर्वाचन परिचालन समिति, क्षेत्र नं. १ बाँकेले बिहीबार प्रेस नोट जारी गर्दै सामाजिक सञ्जालमार्फत पार्टी र उम्मेदवारविरुद्ध आधारहीन, भ्रामक तथा कपोलकल्पित सामग्री प्रकाशित गरिएकोप्रति आपत्ति जनाएको हो। प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस सम्बद्ध देव बहादुर बिसीले सामाजिक सञ्जालमा पार्टीविरुद्ध गलत सूचना फैलाएको उल्लेख गर्दै त्यस्ता सामग्री पूर्ण रूपमा असत्य रहेको स्पष्ट पारिएको छ।
पार्टीले सम्बन्धित पक्षलाई भ्रामक प्रचार नगर्न चेतावनी दिँदै यस्ता गतिविधि नरोके कानुनी उपचारमा जान बाध्य हुने जनाएको छ।
प्रेस नोटमा नेकपाले आफ्नो चुनाव चिह्न “तारा” रहेको स्मरण गराउँदै पार्टीले अन्य कुनै व्यक्ति वा समूहलाई समर्थन गरेको भन्ने प्रचार पूर्ण रूपमा झुटो भएको दाबी गरेको छ। साथै, पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) को सुनिश्चित विजयका लागि सम्पूर्ण मतदाता, कार्यकर्ता तथा शुभेच्छुकलाई अझ सक्रिय हुन हार्दिक अपिल गरिएको छ।
उक्त प्रेस नोट नेपाली कम्युनिस्ट पार्टी निर्वाचन परिचालन समिति, क्षेत्र नं. १ बाँकेका सदस्य सचिव बल बहादुर खड्का (आविरल) द्वारा जारी गरिएको हो। विज्ञप्तिमा कुनै पनि कपोलकल्पित हल्लाको पछि नलागी चुनावी अभियानमा सक्रिय सहभागिता जनाउन सबैमा अनुरोध गरिएको छ।







