काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले राजधानीबाट पेस्तोल, गोली तथा ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कविर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेका छन्।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल, सोही पेस्तोलका तीन थान म्याग्जिन, चार राउन्ड गोली, एसएलआर हतियारका दुई राउन्ड गोली तथा नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७५० ट्याब्लेट बरामद गरेको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।







