नेपालगन्ज । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका २० लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बाँकेमा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाईबाट खटिएको टोलीले कात्तिक ८ र ९ गते जिल्लाका विभिन्न स्थानबाट ती सामान बरामद गरेको हो ।


सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामानको कुल मूल्य २० लाख ६८ हजार ११० रुपैयाँ रहेको छ । बरामद सामानमा लत्ताकपडा, किराना सामग्री, मोबाइल पार्ट्स, सुर्तीजन्य पदार्थ, पेय पदार्थ, तरकारी तथा खाद्यान्न रहेका छन् । प्रहरीले सामान ओसारपसारमा प्रयोग गरिएका दुईवटा अटोरिक्सा पनि बरामद गरेको जनाएको छ ।
बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय, जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।






