काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ७१औँ प्रहरी दिवस तथा आसन्न बडादसैँ, शुभ दीपावली, नेपाल संवत् र छठ पर्व–२०८३ को अवसरमा नेपाल प्रहरीका सम्पूर्ण सदस्य, अवकाशप्राप्त प्रहरी कर्मचारी, प्रहरी परिवार तथा आम नागरिकमा शुभकामना व्यक्त गरेका छन्।
प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंमार्फत जारी शुभकामना सन्देशमा प्रहरी महानिरीक्षक कार्कीले राष्ट्र र नागरिकको सेवामा समर्पित सम्पूर्ण प्रहरी कर्मचारीको योगदानको उच्च कदर गर्दै उनीहरूको सुख, समृद्धि, उत्तम स्वास्थ्य र व्यावसायिक सफलताको कामना गरेका छन्।
वि.सं. २०१२ सालमा संस्थागत स्वरूप प्राप्त गरेको नेपाल प्रहरीले सात दशक लामो गौरवशाली यात्रामा विभिन्न आरोह–अवरोह तथा चुनौतीको सामना गर्दै आएको उल्लेख गर्दै उनले बदलिँदो सुरक्षा चुनौतीबीच राष्ट्र र नागरिकको सेवामा प्रहरीको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको बताएका छन्।
सन्देशमा राष्ट्र र नागरिकको सेवाका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूको अतुलनीय बलिदानप्रति उच्च सम्मान व्यक्त गरिएको छ। साथै, उनीहरूका परिवारले भोग्नुपरेको पीडालाई नेपाल प्रहरीको साझा दायित्व र उत्तरदायित्वका रूपमा लिँदै आवश्यक सहयोग, संरक्षण र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको संस्थागत विकास, प्रतिष्ठा र विश्वसनीयता निर्माणमा योगदान पुर्याउने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गर्दै वर्तमान प्रहरी कर्मचारीको समर्पण, कर्तव्यनिष्ठा र व्यावसायिक प्रतिबद्धताको प्रशंसा गरेका छन्।
उनले इमानदारी, कर्तव्यनिष्ठा र निष्पक्षताका साथ राष्ट्र तथा नागरिकको सेवामा निरन्तर समर्पित प्रहरी कर्मचारीको योगदानले संगठनलाई थप सुदृढ बनाएको उल्लेख गरेका छन्। साथै, नेपाल प्रहरीको संस्थागत विकास, क्षमता अभिवृद्धि तथा सेवा सुदृढीकरणमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सहयोगी निकाय र आम नागरिकबाट प्राप्त सहयोग, सद्भाव र विश्वासप्रति आभार व्यक्त गरेका छन्।
प्रविधिमैत्री र नागरिकमैत्री प्रहरी निर्माणमा जोड
शुभकामना सन्देशमा नेपाल प्रहरीलाई अझ प्रभावकारी, उत्तरदायी र आधुनिक संगठनका रूपमा विकास गर्ने लक्ष्यसमेत प्रस्तुत गरिएको छ। ‘विपद्मा सारथि, संकटमा सहरी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने आदर्शलाई आत्मसात् गर्दै बदलिँदो सामाजिक–आर्थिक, राजनीतिक तथा प्रविधिगत परिवेशसँगै विकसित हुँदै गएका सुरक्षा चुनौतीको सामना गर्न प्रहरी संगठनलाई थप सक्षम बनाउनुपर्नेमा जोड दिइएको छ।
प्रहरी सेवालाई अझ सहज, व्यावसायिक, प्रविधिमैत्री र नागरिकप्रति उत्तरदायी बनाउँदै संगठनको विश्वसनीयता अभिवृद्धि गर्नु प्रमुख प्राथमिकता रहेको सन्देशमा उल्लेख छ।
त्यसैगरी, कानुनको प्रभावकारी कार्यान्वयन, प्रहरी सेवा प्रवाहमा निरन्तरता, उच्च मनोबल र अटुट प्रतिबद्धताका साथ नागरिकको सुरक्षामा खटिन सम्पूर्ण प्रहरी कर्मचारीलाई प्रेरित गरिएको छ।
चाडपर्वमा शान्ति, सुरक्षा र सद्भावको अपेक्षा
दसैँ, तिहार, नेपाल संवत् तथा छठजस्ता महत्त्वपूर्ण चाडपर्वको अवसरमा नागरिकको शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्नु प्रहरीको महत्त्वपूर्ण जिम्मेवारी हो। यस सन्दर्भमा प्रहरी संगठनले व्यावसायिकता, इमानदारी र नागरिकप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्ने सन्देशले स्पष्ट पारेको छ।
प्रहरी महानिरीक्षक कार्कीले अन्त्यमा ७१औँ प्रहरी दिवस तथा आसन्न चाडपर्वको अवसरमा सम्पूर्ण प्रहरी परिवार र आम नागरिकमा पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै राष्ट्र र नागरिकको सेवामा उच्च मनोबलका साथ समर्पित रहन सबैलाई आह्वान गरेका छन्।
‘धन्यवाद, जय नेपाल !’ भन्ने सन्देशसहित प्रहरी महानिरीक्षक कार्कीले २०८३ असोज २८ गते शुभकामना सन्देश जारी गरेका हुन्।








