Tuesday, October 13, 2026

कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा एक १६ वर्षीय किशोरलाई जंगलमा लगेर धारिलो हतियार देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

किशोरलाई स्थानीय खजुवा जंगलमा लगेर कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत असोज २३ गते साँझ बेलौरी नगरपालिका–९, रतनपुरका किशोरलाई स्थानीय खजुवा जंगलमा पुर्‍याइएको थियो। जंगलमा किशोरलाई खुकुरीजस्तो धारिलो हतियार देखाएर धम्क्याउनुका साथै कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा बेलौरी नगरपालिका–९ का आशिष बिष्ट, दिलिप भट्ट, शंकर सुनार, सुजित अधिकारी र मिलन तिरुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार पक्राउ परेका आरोपितहरूमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक र अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको हो। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिका र घटनाको वास्तविक कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय