Tuesday, October 13, 2026

काठमाडौं । गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले निर्देशन उल्लङ्घन गरी सुरक्षाकर्मी खटाउने अधिकारी तथा पदाधिकारीमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले सूचना जारी गर्दै कानुन तथा कार्यविधिले तोकेको व्यवस्थाबाहेक अन्य व्यक्तिगत प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता गर्न निर्देशन दिएका हुन्।

मन्त्रालयका अनुसार ‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ ले बहालवाला तथा पूर्वपदाधिकारीलाई उपलब्ध गराइने व्यक्तिगत सुरक्षाकर्मीसम्बन्धी व्यवस्था स्पष्ट गरेको छ। तर, उक्त व्यवस्थाविपरीत सुरक्षाकर्मीलाई घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ।

यसअघि नै मन्त्रालयले गत असोज २२ गते कार्यविधिविपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र अनिवार्य रूपमा दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिइसकेको जनाएको छ।

निर्देशन तथा कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा सम्बन्धित अधिकृत वा पदाधिकारीमाथि कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

त्यस्तै, कानुनविपरीत सुरक्षाको कामबाहेक अन्य घरायसी वा व्यक्तिगत प्रयोजनमा सुरक्षाकर्मी प्रयोग गरिएको पाइएमा सर्वसाधारणले समेत उजुरी दिन सक्नेछन्। त्यस्ता घटनाबारे गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: