सुर्खेत । नेपालीहरूको प्रमुख चाडपर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै अस्थायी ट्राफिक प्रहरी पोष्ट बबई, सुर्खेतमा ‘यात्री सहायता कक्ष’ (Passenger Help Desk) स्थापना गरी सञ्चालनमा ल्याइएको छ।
चाडपर्वको समयमा सडकमा यात्रु तथा सवारीसाधनको चाप बढ्ने भएकाले यात्रुहरूलाई आवश्यक सूचना, सहजीकरण तथा सुरक्षित यात्राका लागि सहयोग पुर्याउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।
सहायता कक्ष उद्घाटनका क्रममा ट्राफिक प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षित यात्रा गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र यात्राका क्रममा देखिने समस्या तथा असहजताबारे तत्काल जानकारी गराउन आग्रह गरेको छ।
विशेषगरी चाडपर्वका बेला लामो दूरीका सवारीसाधनमा यात्रुको चाप बढ्ने, तीव्र गति, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा चालकको लापरबाहीका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले निगरानी र सचेतना अभियानलाई समेत प्राथमिकता दिएको जनाएको छ।
बबई क्षेत्र कर्णालीतर्फ आवतजावत गर्ने महत्वपूर्ण सडकखण्डमा पर्ने भएकाले यहाँ स्थापना गरिएको यात्री सहायता कक्षले यात्रु तथा चालकलाई आवश्यक सहयोग र जानकारी उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट बबईले “सडक सुरक्षा हाम्रो चाहना, सुरक्षित यात्राको सेवा शुभकामना” भन्ने सन्देशसहित विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना दिँदै सबैलाई सावधानीपूर्वक, अनुशासित र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।
चाडपर्वलाई सुरक्षित, व्यवस्थित र दुर्घटनारहित बनाउन ट्राफिक प्रहरी, चालक, यात्रु तथा आम नागरिकबीचको सहकार्य आवश्यक रहेको प्रहरीको भनाइ छ।








