बाँके, कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद खगेन्द्र सुनारमाथि उठेका विभिन्न आरोपको निष्पक्ष छानबिन गर्न तथा आवश्यक परे सांसद पदबाट फिर्ता बोलाउने प्रक्रिया (राइट टु रिकल) अघि बढाउन माग गरिएको छ।
रास्वपाका बाँके क्षेत्र नम्बर ३ का अध्यक्ष तथा केन्द्रीय विधेयक मन्थन विभागका सदस्य विक्रम ओलीले पार्टीका संसदीय दलका नेतासमक्ष ज्ञापनपत्र बुझाउँदै सांसद सुनारमाथि उठेका आरोपको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका हुन्।
ज्ञापनपत्रमा सांसद सुनार निर्वाचित भएपछि जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या बुझ्ने, समाधानका लागि पहल गर्ने र निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता पूरा गर्ने विषयमा अपेक्षित भूमिका निर्वाह नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
सांसद सुनारको सार्वजनिक अभिव्यक्ति तथा गतिविधिले सामाजिक सद्भाव, जातीय द्वन्द्व र शान्तिमा असर पारेको, सामाजिक सञ्जालमा अराजकता फैलाउने खालका अभिव्यक्ति दिएको, राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने अभिव्यक्ति दिएको तथा जनप्रतिनिधिको मर्यादाविपरीत व्यवहार गरेको लगायतका विषय ज्ञापनपत्रमा उल्लेख छन्। साथै, राजदूत नियुक्तिसम्बन्धी विषयमा कमिसन लिएको आरोपसहित विभिन्न आरोप सार्वजनिक भएको भन्दै तिनको सत्यतथ्य छानबिन गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा उल्लेखित आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भइसकेका तथ्य नभएकाले सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।
ओलीले यस्ता विवाद र गम्भीर आरोपका कारण बाँके–३ का जनताको प्रतिष्ठामा आँच पुगेको उल्लेख गर्दै जनअपेक्षाअनुसार काम हुन नसके आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई समेत राजनीतिक क्षति पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
उनले ‘राइट टु रिकल’ प्रक्रियामार्फत सांसद सुनारमाथि उठेका आरोपको निष्पक्ष छानबिन गरी यथार्थका आधारमा आवश्यक कारबाही गर्न र कानुनबमोजिम पदबाट फिर्ता बोलाउने प्रक्रिया अघि बढाउन माग गरेका छन्।
ज्ञापनपत्रमा पार्टीले विषयलाई गम्भीरतापूर्वक नलिए जनताको आवाज सम्बोधन गर्न शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ।
नोट: ‘राइट टु रिकल’ अर्थात् निर्वाचित प्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि मतदाताले फिर्ता बोलाउने अवधारणा हो। यसको कार्यान्वयन सम्बन्धित कानुनी तथा संवैधानिक व्यवस्थाअनुसार हुनुपर्नेछ








