काठमाडौं । केयर गिभरका रूपमा इजरायल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्कालाई काठमाडौं जिल्ला अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबार, असोज २६ गते खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको हो।


केयर गिभर ठगी प्रकरणको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कासहित पाँच जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्यमा कांग्रेस नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ रहेका छन्।
अदालतका अनुसार अन्य प्रतिवादीको बयानबाट खड्काको संलग्नता पुष्टि हुने अवस्था नदेखिएको र पीडितहरूको जाहेरीमा समेत उनले रकम लिएको वा ठगी गरेको तथ्य उल्लेख नभएको आधारमा उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिइएको हो।
अदालतको आदेशसँगै खड्का अब थुनामुक्त रहेर अनुसन्धान प्रक्रियामा सहभागी हुनेछिन्।






