कालिकोट । कालिकोटको शुभकालिका गाउँपालिका–३ भर्तास्थित श्री जनज्योति माध्यमिक विद्यालय परिसरभित्रै मदिरा पसल सञ्चालनमा आएको पाइएको छ। शिक्षा क्षेत्रलाई मर्यादित र मदिरामुक्त क्षेत्रका रूपमा विकास गरिनुपर्नेमा विद्यालय व्यवस्थापन समितिकै अध्यक्ष दिलिप अधिकारी स्वयम्ले विद्यालय परिसरभित्र मदिरा पसल चलाएपछि स्थानीयवासी र अभिभावकहरू रुष्ट बनेका छन्।
भविष्यका कर्णधारहरू पढ्ने र अनुशासित वातावरण कायम हुनुपर्ने शैक्षिक संस्थाभित्रै मदिराको कारोबार हुनुले विद्यालयको शैक्षिक वातावरणमा गम्भीर असर परेको छ। स्थानीयका अनुसार विद्यालय क्षेत्रभित्र दिनहुँ मदिरा खरिद–बिक्री र सेवन हुने गरेका कारण विद्यार्थीहरूको पठनपाठनमा बाधा पुग्नुका साथै उनीहरूको मानसिक र सामाजिक विकासमा समेत नकारात्मक प्रभाव परिरहेको छ।
“ज्ञानको मन्दिर मानिने विद्यालयभित्रै व्यवस्थापन समितिका अध्यक्षजस्तो जिम्मेवार व्यक्तिले व्यापारका नाममा मदिरा पसल चलाउनु अत्यन्तै गैरजिम्मेवार र लज्जास्पद कार्य हो,” एक स्थानीय अभिभावकले आक्रोश व्यक्त गर्दै भने, “जसले विद्यालयको संरक्षण र सुधारको नेतृत्व लिनुपर्ने हो, उनैबाट यस्तो कार्य हुनु दुर्भाग्यपूर्ण छ।”
शिक्षा नियमावली तथा प्रचलित कानुनअनुसार विद्यालय तथा सार्वजनिक स्थलको तोकिएको दूरीभित्र मदिरा बिक्री–वितरण र सेवन गर्न सख्त मनाही छ। तर, नियम–कानुनको धज्जी उडाउँदै खुला रूपमा सञ्चालन भइरहेको उक्त मदिरा पसलका विषयमा स्थानीय प्रशासन, गाउँपालिकाको शिक्षा शाखा र सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
अभिभावक तथा स्थानीय बासिन्दाहरूले विद्यालय परिसरबाट तत्काल उक्त मदिरा पसल हटाई विद्यालयमा मर्यादित शैक्षिक वातावरण कायम गर्न माग गरेका छन्। साथै, यस विषयमा सम्बन्धित निकायले तत्काल ध्यान नदिए कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत उनीहरूले दिएका छन्।







