टिकापुर । रोटरी डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) अन्तर्गत सञ्चालित राष्ट्रव्यापी ‘१ लाख वृक्षारोपण अभियान’ लाई सफल बनाउने उद्देश्यले रोटरी क्लब अफ सेन्ट्रल बाँकेले टिकापुर नगरपालिकामा १५० बिरुवा रोपेको छ। यो अभियान रोटरीका वातावरण संरक्षणसम्बन्धी दीर्घकालीन कार्यक्रमसँग मेल खान्छ।
टिकापुर नगरपालिका परिसर तथा टिकापुर–खक्रौला सडकखण्डमा सम्पन्न वृक्षारोपण कार्यक्रममा रोटेरियन, नगरपालिका प्रमुख तथा कर्मचारी, नगर प्रहरी, विभिन्न सरोकारवाला र स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सामूहिक श्रमदानमार्फत सडकको बीच भागलाई हरियाली र आकर्षक बनाउने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लब अफ सेन्ट्रल बाँकेका कैलाली परियोजना संयोजक रोटेरियन मनिष मण्डलले वृक्षारोपण भावी पुस्ताका लागि गरिएको अमूल्य लगानी भएको उल्लेख गर्दै सडक क्षेत्रबाट वातावरण संरक्षणको चेतना विस्तार गर्न सकिने धारणा व्यक्त गरे।
वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले वातावरण संरक्षणमा योगदान पुर्याएकोमा रोटरी क्लबप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सेवा परियोजनालाई निरन्तरता दिन आग्रह गरिन्।
कार्यक्रममा रोटेरियन मनिष मण्डल, पशुराम चौधरी, टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिताल, ई. राजेन्द्र रावल, शाखा प्रमुख निर्मला चौधरी, स्थानीय सरकार सबलीकरण कार्यक्रमका संयोजक यगमान सेठी, नगर प्रहरी प्रमुख पहल शाह तथा नगरपालिका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष रो. ईश्वरी जंग मल्लले ‘रोटरी वृक्षारोपण सप्ताह २०२६’ ले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र भावी पुस्ताप्रतिको दायित्वलाई व्यवहारमा उतार्दै रोटरीको अन्तर्राष्ट्रिय नारा ‘Create Lasting Impact’ लाई सार्थक बनाएको बताए।








