काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी सङ्गठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको स्पष्ट पारेका छन्।शुक्रबार रास्वपा कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सुनारले संसदीय समितिमा कुनै विषयमा उजुरी परेपछि सम्बन्धित व्यक्ति तथा अधिकारीलाई बोलाएर छलफल गर्नु नियमित संसदीय प्रक्रिया भएको बताए।
उनले आफूले प्रहरी सङ्गठन वा प्रहरी प्रमुखलाई लक्षित गरेर व्यक्तिगत रूपमा कुनै विवाद वा आग्रह नराखेको स्पष्ट पार्दै सञ्चारमाध्यममा दुई पक्षबीच विवाद रहेको जस्तो गरी प्रचार गरिएकोप्रति आपत्ति जनाए।सांसद सुनारले संसदीय समितिमा आउने विषयलाई प्रक्रिया र जिम्मेवारीका आधारमा हेर्नुपर्नेमा जोड दिए।उनका अनुसार जनतासँग सम्बन्धित गुनासा, उजुरी तथा सार्वजनिक सरोकारका विषयमा समितिले सम्बन्धित निकायका अधिकारीसँग छलफल गर्नु स्वाभाविक प्रक्रिया हो।रास्वपाको राजनीतिक उद्देश्यबारे बोल्दै उनले पार्टीको जन्म नै मुलुकमा विद्यमान अराजकता, बेथिति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नका लागि भएको दाबी गरे।


राज्यका निकायलाई जवाफदेही र जनउत्तरदायी बनाउने विषयमा पार्टी निरन्तर खबरदारी गरिरहने उनको भनाइ थियो।यसैबीच, बारामा भएको बालिका हत्याको घटनाप्रति पनि सांसद सुनारले गम्भीर चिन्ता व्यक्त गरेका छन्।उनले घटनामा संलग्न दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्न राज्य गम्भीर हुनुपर्ने बताए।





