काठमाडौं । काठमाडौंको चौमतीबाट स्रोत खुल्न नसकेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ५२ वर्षीय चिनियाँ नागरिक एमए यागुबी रहेका छन्। लागुऔषध कारोबारको आशंकामा निगरानीमा रहेका यागुबीलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–१५, चौमतीस्थित उनले भाडामा लिएको घरमा खानतलासी गरी पक्राउ गरेको हो।


प्रहरीका अनुसार यागुबीले उक्त क्षेत्रमा घर भाडामा लिएर लागुऔषध कारोबार गर्दै आएको विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा ब्युरोले उनको गतिविधिमाथि निगरानी बढाएको थियो।
भदौ ८ गते उनको कोठामा खानतलासी गर्दा लागुऔषध भने फेला नपरेको प्रहरीले जनाएको छ। तर, स्रोत खुल्न नसकेको ३१ लाख रुपैयाँ नगद भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
खानतलासीका क्रममा यागुबीको साथ तथा कोठाबाट राहदानी, सुन काट्न प्रयोग हुने कैँची, ह्यामर, डिजिटल तराजु र क्याल्कुलेटर एक–एक थान बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, विभिन्न कम्पनीका चार थान मोबाइल फोन, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका दुई थान चेकबुक तथा एनआईसी एसिया बैंकको एक थान चेकबुक समेत बरामद भएको छ।
लागुऔषध कारोबारको सूचनाका आधारमा अनुसन्धान अघि बढाइए पनि हालसम्म यागुबीको साथ वा कोठाबाट लागुऔषध फेला नपरेको लागुऔषध नियन्त्रण ब्युरोले स्पष्ट पारेको छ। बरामद भएको ३१ लाख रुपैयाँको स्रोत तथा यागुबीका अन्य गतिविधिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
अध्यागमन अभिलेखअनुसार यागुबी यसअघि पाँच पटक नेपाल आएर फर्किसकेका थिए। उनी छैटौँपटक सन् २०२६ जुलाई २३ मा नेपाल प्रवेश गरेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका यागुबीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।





