नेपालगञ्ज । लागूऔषधविरुद्धको अभियानमा प्रभावकारी कार्यसम्पादन गर्दै प्रहरी सहायक निरीक्षक नविन कुमार शाहीले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट २०८३ साल श्रावण महिनाको ‘Best Police of the Month’ को सम्मान प्राप्त गरेका छन्।
शाही हाल लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्ज, बाँकेको कार्यालय प्रमुखको रुपमा कार्यरत छन्। यसअघि शाहि इलाका प्रहरी कार्यालय, रास्कोट स्युना, कालिकोटको दरबन्दीमा कार्यरत थिए।
उत्कृष्ट प्रहरी घोषणा सम्बन्धी प्रमाणपत्रअनुसार शाहीले श्रावण महिनामा जिम्मेवारी निर्वाह गर्ने क्रममा १ सय १४ दशमलव ४० ग्राम लागूऔषध खैरो हेरोइनसहित पाँच जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए। कार्यसम्पादनका क्रममा उनले व्यावसायिक आचरण, लगनशीलता, विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको प्रभावकारी पालना गरेको भन्दै मूल्याङ्कन समितिले उनलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो।
सम्मानस्वरूप शाहीलाई रु. १ हजार ५ सय नगद पुरस्कारसहित ‘Best Police of the Month’ घोषणा गरिएको प्रमाणपत्रमा उल्लेख छ। प्रमाणपत्र लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहराले प्रदान गरेका हुन्।
लागूऔषध नियन्त्रणलाई नेपाल प्रहरीले अपराध नियन्त्रणसँगै सामाजिक सुरक्षाको महत्वपूर्ण विषयका रूपमा अघि बढाउँदै आएको छ। पछिल्ला दिनमा लागूऔषधको कारोबार, ओसारपसार र प्रयोग नियन्त्रणका लागि विशेष अभियान तथा अनुसन्धानलाई प्राथमिकता दिइँदै आएको नेपाल प्रहरीका सार्वजनिक सूचनाहरूले समेत देखाउँछन्।
शाहीको सम्मान केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन। संवेदनशील जिम्मेवारीमा खटिने प्रहरी कर्मचारीको इमानदारी, सक्रियता, अनुसन्धान क्षमता र परिणाममुखी कार्यशैलीलाई संगठनले पहिचान र प्रोत्साहन गर्नुको उदाहरणका रूपमा समेत यसलाई लिन सकिन्छ।
विशेषगरी लागूऔषधको जालो युवापुस्ता र समाजको भविष्यसँग जोडिएको चुनौती बन्दै गएको अवस्थामा अनुसन्धान र नियन्त्रणमा खटिएका प्रहरीको प्रभावकारी कार्यसम्पादनले सकारात्मक सन्देश दिने गर्छ। शाहीको यो उपलब्धिले कर्तव्यप्रति प्रतिबद्ध प्रहरी कर्मचारीको मेहनतलाई सम्मान गर्दा संगठनभित्र थप उत्कृष्ट काम गर्ने ऊर्जा पैदा हुन्छ भन्ने सन्देशसमेत दिएको छ।
कर्तव्यमा प्राप्त परिणाम, व्यावसायिक अनुशासन र निरन्तर सक्रियतालाई आधार बनाएर पाएको यो सम्मानले प्रहरी निरीक्षक नविन कुमार शाहीलाई आगामी जिम्मेवारीमा अझ प्रभावकारी रूपमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।







