कोहलपुर । नेपाली कांग्रेसको विशेष अधिवेशनप्रति असहमति जनाउँदै कोहलपुर नगरपालिका–६ बाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
कांग्रेसका क्रियाशील सदस्य तथा क्षेत्रीय प्रतिनिधिले सामाजिक सञ्जालमार्फत आफू सत्य र न्यायको पक्षमा अडिग रहेको उल्लेख गर्दै विशेष अधिवेशनले पार्टीलाई हित नगर्ने धारणा सार्वजनिक गरेका हुन्।
उनले आफू विशेष अधिवेशनका लागि हस्ताक्षर नगर्ने पक्षको कार्यकर्ता भएको स्पष्ट पार्दै पार्टी सभापति शेरबहादुर देउवा विदेशबाट स्वदेश फर्किँदा कांग्रेसका नेता तथा महामन्त्री गगन थापाले विमानस्थलमा स्वागत गर्न नजानु दुःखद भएको टिप्पणी गरेका छन्।
उनको भनाइमा पार्टीभित्र नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध तथा राजनीतिक संस्कार कमजोर हुँदै जानु चिन्ताको विषय हो। उनले व्यक्तिगत स्वार्थ, परिवारवाद र गुटगत राजनीतिभन्दा पार्टीको विचार, सिद्धान्त र संगठनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
राजीनामा घोषणासँगै उनले आफूलाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउने कोहलपुर–६ का सम्पूर्ण क्रियाशील सदस्यहरूप्रति सम्मान व्यक्त गर्दै आगामी नियमित अधिवेशनमा सहभागी हुन आग्रह समेत गरेका छन्।
विशेष अधिवेशनको विषयमा कांग्रेसभित्र मतभेद र असन्तुष्टि देखिइरहेका बेला आएको यो राजीनामालाई स्थानीय तहमा पार्टीभित्र बढ्दो असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।








