
कोहलपुर, बाँके —
मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयका नवनियुक्त निर्देशक डा. विष्णु कुमार खड्का बुधबार बाँकेको कोहलपुरस्थित वागेश्वरी बहुमुखी क्याम्पसको अनुगमनमा पुगे। उनले क्याम्पसको शैक्षिक तथा भौतिक अवस्थाबारे जानकारी लिँदै प्राध्यापक तथा कर्मचारीहरूसँग अन्तरक्रिया समेत गरेका छन्।


छलफलका क्रममा डा. खड्काले विश्वविद्यालय समय, परिवेश, वातावरण तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखी पाठ्यक्रम परिमार्जनमा जुटेको जानकारी गराए। उनले “आगामी शैक्षिक सत्रदेखि संशोधित पाठ्यक्रम लागू गर्ने तयारी भइरहेको छ, यसमा प्राध्यापकहरुको सक्रिय सहभागिता र सुझाव अपेक्षित छ,” भने।
उनका अनुसार विश्वविद्यालयले आगामी २० वर्षलाई लक्षित गरी दीर्घकालीन रणनीतिक योजना निर्माण गरिसकेको छ। उनले पाँच वर्षे रणनीतिक चरणहरूमा कार्यहरू कार्यान्वयन हुँदै जाने पनि बताए। “समयमै योजना बनाउने र कार्यान्वयन गर्ने संस्कार स्थापित गर्न हामी लागिपरेका छौं,” डा. खड्काले भने।
तर, उनले विश्वविद्यालयमा पर्याप्त र सन्तुलित मानवीय स्रोत व्यवस्थापनको चुनौती अझै टड्कारो रहेको बताए। “डिजिटल प्रविधि मैत्री विश्वविद्यालय बनाउने लक्ष्यसहित हामी पाँच वर्षभित्र मानव संसाधन व्यवस्थापनको खाका कार्यान्वयन गर्दैछौं,” उनले थपे।
कार्यक्रममा सहभागी प्राध्यापकहरुले विश्वविद्यालयमा अझै समाधान नपाएका पुराना समस्याहरू उठाए। उपप्राध्यापक एकराज शर्माले क्याम्पस समायोजन (२०७५) पछि उत्पन्न अस्थायी, करार र आंशिक प्राध्यापकसम्बन्धी समस्याहरू यथाशीघ्र समाधान गर्न आग्रह गरे।
उपप्राध्यापक अनुप शाहीले मानव स्रोत व्यवस्थापन गर्दा प्राध्यापक तथा कर्मचारीको उमेर, योग्यता, उर्जा र पेशागत मर्यादा विचार गर्नुपर्ने सुझाव दिए। ललित चन्दले मानव संसाधन व्यवस्थापनमा ढिलाइ भइरहे विश्वविद्यालयको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिए।
क्याम्पस प्रमुख दानबहादुर हमालले समस्याहरू समाधानका लागि विश्वविद्यालय प्रशासनसँग पटक–पटक संवाद भइरहेको र उपकुलपति तथा रजिष्ट्रार समस्याप्रति संवेदनशील रहेको जानकारी दिए। उनले निकट भविष्यमा केही समाधान आउने विश्वाससमेत व्यक्त गरे।
कार्यक्रमको सहजीकरण उपप्राध्यापक खोपिराम वली क्षेत्रीले गरेका थिए। छलफलमा क्याम्पसका प्राध्यापक र कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यसैक्रममा डा. खड्काले हाल सञ्चालनमा रहेको स्नातक तह पाँचौँ, तेस्रो र छैठौँ सेमेस्टरको अन्तिम सत्रान्त परीक्षाको पनि निरीक्षण गरेका थिए। साथै, क्याम्पसको भौतिक पूर्वाधारहरूको अवलोकनसमेत गरिएको क्याम्पस प्रमुख हमालले जानकारी दिए।





