Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

सुर्खेत, कर्णाली प्रदेश —
“जय जननी बडिमालिका माता!” यिनै भक्तिपूर्ण भावनाका साथ कर्णाली प्रदेशको कालिकोट जिल्लाबाट पुजारीसहितको बडिमालिका जाने धार्मिक टोली आज भव्य रूपमा प्रस्थान गरेको छ।

शुरुआतमा कर्णाली प्रदेशको राजधानी, वीरेन्द्रनगर सुर्खेतबाटै टोलीलाई प्रस्थान गराउने योजना बनाइएको थियो। पुजारी र प्रदेश योजना आयोगका सदस्य अशोक नाथ योगीबीच पटक–पटक छलफल समेत भएको थियो। तर केही कारणले त्यो सम्भव नभएपछि, टोलीलाई कालिकोटको जिल्ला प्रशासन कार्यालय र रास्कोट नगरपालिकाबाट बिदाइ गरिएको हो।

अशोक नाथ योगीले आफू द्वन्द्वकालमा जुम्लाबाट टोली प्रमुखको रूपमा पहिलोपटक बडिमालिका पुगेर पूजा गराएको स्मरण गरे। यस वर्ष उनी जान नसके पनि, भविष्यमा राजधानी सुर्खेतबाटै टोलीको नेतृत्व गर्ने र बडिमालिका यात्रालाई अझ प्रभावकारी बनाउने योजना रहेको बताएका छन्।

यात्राको सुरु परम्परागत रूपमा भयो — भण्डार गृहबाट टोली निस्कियो, राष्ट्रगुरु योगी नरहरिनाथको प्रतिमामा पूजा गरियो, बजार परिक्रमा गरियो, अनि रास्कोट नगरपालिकाको प्रांगणबाट भक्तिभावसहित यात्रा आरम्भ भयो।

यसपटकको यात्रा केवल धार्मिक आस्था मात्र होइन, कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण रहेको छ। बडिमालिका त्रिवेणी क्षेत्रमा कर्णाली प्रदेश सरकारले लगानी गरिसकेको छ, र रास्कोट नगरपालिका तथा शान्नी त्रिवेणी गाउँपालिकाबाट त्रिवेणी पाटन हुँदै बडिमालिका पुग्न अहिले सजिलो भएको छ।

आज रास्कोटबाट प्रस्थान गरेको टोलीमा कालिकोटका मूल पुजारी, गजुरसहितका श्रद्धालुहरू छन्। जुम्लाबाट टोली पहिल्यै प्रस्थान गरिसकेको छ, र अन्य थुप्रै स्थानबाट पनि भक्तजनहरूको यात्रा जारी रहेको छ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी, रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बराल, सम्पूर्ण वडाअध्यक्षहरू, राजनीतिक दलहरू, पत्रकार, कलाकार र नागरिक समाजको सहयोगका लागि अशोक नाथ योगीले विशेष धन्यवाद दिएका छन्।

उनले भने:

> “यो आरम्भ मात्र होइन, शुभारम्भ हो। यो पुनः आरम्भ हो।
यो श्री गणेश हो, श्री बडिमालिका हो, ठूली मालिका हो।
यो सनातन धर्म र संस्कृतिको सम्मान हो।
यो रास्कोट, कालिकोट, र कर्णालीबासीको स्वाभिमान हो।”

 

अशोक नाथ योगीले बडिमालिका क्षेत्रलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्य पनि राखेका छन्। साथै, आगामी वर्षदेखि कर्णाली प्रदेशको राजधानीबाटै टोली आरम्भ गरी पंचकोशी देवस्थलहरू हुँदै पुजारीसहितको टोलीलाई बडिमालिका प्रस्थान गराउने विशेष योजना अघि बढाउने प्रतिवद्धता जनाएका छन्।

यात्रा सुरु भइसकेको छ — भक्तजनहरूको उत्साह उत्कर्षमा छ। सम्पूर्ण तीर्थालुहरूलाई शुभकामना! बडिमालिका माताको कृपा सदा साथ रहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech