कोहलपुर (बाँके)- कोहलपुर नगरपालिका–११ मा रहेको कोहलपुर मिडिया हाउस प्रालिद्वारा सञ्चालित कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाहीलाई एक युवाले ज्यान मार्ने धम्की दिएका छन्।


शाहीका अनुसार, सोमबार बिहान करिब ७ बजे काम गरिरहेकै बेला कोहलपुर नगरपालिका–१० का प्रमोद रिजालले व्यक्तिगत मोबाइल नम्बरमा ह्वाट्सएप म्यासेजमार्फत “घाँटी स्वीट गर्छु” भन्दै ज्यान मार्ने धम्की दिएका हुन्।
“एउटा पत्रकार आफ्नो अफिसमा बसेर दैनिक काम गरिरहँदा यस्तो धम्की आउँदा कस्तो मानसिक तनाव हुन्छ, त्यो मलाई मात्रै थाहा छ,” सम्पादक शाहीले भने। “बिहानै यस्तो म्यासेज आएपछि म निकै त्रसित भएँ। अहिले बाहिर रिपोर्टिङ गर्न जाने वातावरण पनि छैन। निस्कनै पनि गाह्रो भएको छ।”
शाहीले थप बताए अनुसार, धम्की सँगसँगै व्यक्तिगत जीवनसँग जोडेर तथ्यहीन, भ्रामक र अपुष्ट आरोपसहित मानमर्दन गर्ने किसिमको म्यासेजसमेत पठाइएको छ।
“पत्रकारितामा लागेका हामीहरू सत्य लेख्ने जिम्मेवारीमा हुन्छौं, तर त्यसको मूल्य ज्यान जोखिममा पार्ने हो भने यो गम्भीर विषय हो।” उनले भने।
यस घटनाको जानकारी नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेस युनियन बाँके, प्रेस चौतारी बाँके, प्रेस सेन्टर नेपाल बाँके, समाजवादी प्रेस संगठन बाँके र प्रगतिशील प्रेस संगठन बाँकेलाई गराइसकिएको कोहलपुर टुडेले जनाएको छ।
यसअघि पनि प्रमोद रिजालले सामाजिक सञ्जालमा गालीगलौज गर्ने, बदनाम गराउने तथा पत्रकारहरूमाथि चरित्र हत्या गर्ने किसिमका गतिविधि गर्दै आएको कोहलपुर टुडेको दाबी छ। डिल्ली शाहीले सम्बन्धित निकायसँग आफू र पत्रकार सुरक्षाको गम्भीर माग गरेका छन्।
रिजाल प्रेस चाैतारी संगठन काेहलपुरका अध्यक्ष तथा बुलेट न्युजका सञ्चालक समेत रहेका छन् ।





