बाँके, भदौ ६ ।
बाँके प्रहरीले थप १ सय ग्राम लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ। केही दिनअघि मात्रै १ सय ४७ ग्राम ब्राउनसुगरसहित विक्री केन्द्रका सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरीले शुक्रबार पुनः ठूलो परिमाणको ब्राउनसुगर बरामद गरेको हो।


विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा नेपालगन्ज उपमहानगरपालिका–१६ का २१ वर्षीय रियाज खान पक्राउ परेका छन्। उनको साथबाट ५०/५० ग्रामको दुई पुडियामा गरी १ सय ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।
खानले चलाइरहेको रातो रंगको भारतीय मोटरसाइकल (यु.पी ३२ एन यु ७४३५) समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
‘लागुऔषध नियन्त्रणका लागि बाँके प्रहरी कठोर अभियानमा उत्रिएको छ। प्रयोगकर्ता, ओसारपसारकर्ता र विक्रेतालाई एकसाथ निसाना बनाएर कारबाही गरिँदैछ,’ एसपी घर्तीमगरले बताए।
प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार, खानलाई जानकी गाउँपालिका–१ बाट नियन्त्रणमा लिइएको हो। उनी जानकी गाउँपालिका पचपोखराबाट नेपालगन्जको जयसपुरतर्फ आउँदै गर्दा पक्राउ परेका थिए।





