कपिलवस्तु । जिम्मेवारीप्रतिको इमानदारी, कार्यप्रतिको समर्पण र चुनौतीपूर्ण परिस्थितिमा देखाएको सक्रिय कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै इलाका प्रहरी कार्यालय पिपराकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्की पुरस्कृत हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा प्रहरी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक कार्कीलाई सम्मानसहित पुरस्कृत गर्नुभएको हो।


प्रहरी निरीक्षक कार्कीको कार्यक्षेत्रमा लागुऔषध नियन्त्रण प्रमुख चुनौतीका रूपमा रहेको छ। विशेषगरी युवा पुस्तालाई लागुऔषध दुर्व्यसनबाट जोगाउने, अवैध कारोबार तथा ओसारपसार नियन्त्रण गर्ने र गैरकानुनी गतिविधिमाथि निगरानी बढाउने कार्यलाई उहाँले प्राथमिकतामा राख्दै आउनुभएको छ।
त्यस्तै, भन्सार छली तथा अवैध कारोबार नियन्त्रण, नदीजन्य पदार्थको चोरी निकासी रोकथाम, अपराध अनुसन्धान र नियन्त्रणलगायतका कार्यमा समेत उहाँ सक्रिय रहँदै आउनुभएको छ। मातहतका वडा क्षेत्रमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित वातावरणको अनुभूति दिलाउन उहाँले विशेष पहल गर्दै आउनुभएको छ।
प्रहरी निरीक्षक कार्कीले लागुऔषध नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्र सम्भव नहुने बताउनुभएको छ। यसका लागि स्थानीय नागरिक, अभिभावक र समुदायको सक्रिय सहभागिता तथा सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।
समाजलाई लागुऔषधमुक्त बनाउने अभियानमा सबै पक्षको साथ र सहयोग जुटाउँदै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ।
प्रहरी सेवामा उत्कृष्टता पुरस्कार र सम्मान प्राप्त गर्नुमा मात्र सीमित नरही नागरिकको विश्वास जित्नु, समाजमा शान्ति सुरक्षा कायम गर्नु र गैरकानुनी गतिविधि नियन्त्रण गर्नु नै वास्तविक सफलता भएको सरोकारवालाहरूको भनाइ छ।
एसपी भट्टद्वारा गरिएको यस सम्मानले जिम्मेवारीप्रति समर्पित प्रहरी कर्मचारीको योगदानको कदर गर्नुका साथै प्रहरी संगठनभित्र सकारात्मक कार्यसंस्कृति, मनोबल र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।






