काठमाडौं, भदौ २०।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का २६ वर्षीय सुगन लामा र २६ वर्षीय दिनेश लामा, सिराहा धनगढीमाई नगरपालिका–७ का २६ वर्षीय रविन्द्र महतो, सिराहा अर्नमा गाउँपालिका–२ का २७ वर्षीय राम ललन ठाकुर र २८ वर्षीय धिरज कुमार महतो रहेका छन्।
प्रहरीका अनुसार सुगन र दिनेशलाई काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित एक रेस्टुरेन्टबाट ४० ग्राम हेरोइन र डिजिटल तराजु एक थानसहित मंगलबार पक्राउ गरिएको हो। त्यस्तै, रविन्द्रलाई काठमाडौं महानगरपालिका–३२, कोटेश्वरबाट ५ ग्रामसहित नियन्त्रणमा लिइएको छ। राम ललन र धिरजलाई ललितपुर महानगरपालिका–९ बाट ९ ग्राम हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।





