सुर्खेत – नेपालीहरुको महान चाड विजयादशमी, शुभ दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै सुर्खेतमा ट्राफिक प्रहरी कडाइ गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चाडपर्वमा यात्रुहरूको सुरक्षित तथा सहज आवागमन सुनिश्चित गर्न विशेष योजना लागू गरेको जनाएको छ।


चाडपर्वका समयमा लामो तथा छोटो दुरीका सवारीसाधनमा यात्रु चाप अत्यधिक हुने भएकाले दुर्घटना नियन्त्रण र सडक सुरक्षामा कडाइ गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु चढाउने, मापसे गरी सवारी सञ्चालन गर्ने, गति सीमा उल्लंघन गर्ने तथा अनियमित भाडा असुल्ने जस्ता गतिविधिमा निगरानी बढाइनेछ।
जिल्ला ट्राफिक प्रहरी प्रमुखले यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता दिइएको उल्लेख गर्दै भने,
“चाडपर्वमा घर फर्कने, घुम्न जाने तथा किनमेल गर्ने यात्रुको भीड बढ्छ। त्यसैले दुर्घटना न्यूनीकरणका लागि हामी २४ घण्टा अनुगमनमा रहनेछौं।”
यसअघि पनि चाडपर्वको समयमा ट्राफिक प्रहरीले विशेष चेकजाँच, हेल्मेट अनिवार्य, सीट बेल्ट प्रयोग र सडकमा शिष्टाचार कायम गर्न सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
ट्राफिक प्रहरीले यात्रुलाई निर्धारित समयमा टिकट काट्न, अनावश्यक भीडभाड नगर्न र सुरक्षा नियम पालना गर्न आग्रह गरेको छ।





