मिति : २०८२ साल कात्तिक १९ गते, कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नं. २ का वडा कार्यालयले हालै “सुरक्षा राष्ट्रिय दैनिक” अनलाइनमा प्रकाशित समाचारप्रति कडा आपत्ति जनाएको छ।
वडा कार्यालयका अनुसार सो अनलाइन मिडियाले मिति २०८२/०७/०९ गतेका दिन “वडा नं. २ का केही स्थानीय नेताहरू र जनप्रतिनिधिहरूको सेटिङमा ०८१/०८२ सालको कृषि अनुदान झ्वाम पारिएको श्रोत” भन्ने दाबी गर्दै समाचार प्रकाशित गरेको थियो। सो समाचारमा वडा कार्यालयले गम्भीर ध्यानाकर्षण गराएको छ।


विज्ञप्तीमा भनिएको छ —
“यसरी भ्रमित समाचार प्रकाशन गर्नु अघि वडा कार्यालयसँग सत्य, तथ्य र वास्तविक जानकारी नलिएर पटक–पटक संस्थागत छविमाथि आँच आउने गरी समाचार सम्प्रेषण गर्नु आफैंमा खेदजनक कार्य हो। राज्यको चौथो अंग मिडियामाथि नै धज्जी उडाउन खोज्ने खालको व्यवहार देखिएको छ।”
वडा नं. २ का अनुसार, वडाले सबै विकास कार्यहरू पारदर्शी ढंगले गर्दै आएको र प्रत्येक कार्यक्रम तथा बजेट विवरणहरू राष्ट्रियस्तरका पत्रपत्रिका, अनलाइन मिडिया तथा वडा पेजमार्फत सार्वजनिक गरिएको पनि स्पष्ट गरेको छ।
साथै, “सुरक्षा राष्ट्रिय दैनिक” बाट आएको समाचारमा कुनै पनि सत्यता नरहेको वडाले जनाएको छ।
विज्ञप्तीमा भनिएको छ —
“अब उप्रान्त यस्ता कार्य दोहोर्याउनु हुँदैन, वास्तविकता बुझी मात्र समाचार प्रकाशन गर्न सम्बन्धित मिडियाको ध्यानाकर्षण गराइन्छ।”
विज्ञप्ती वडा अध्यक्ष हरि कठायत द्वारा जारी गरिएको हो।





