कोहलपुर, बाँके —
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता प्रकाश ज्वालाले पार्टी एकता पश्चात पहिलोपटक संयुक्त रूपमा मञ्च ग्रहण गर्दै संगठन विस्तार र कार्यकर्ता गोलबन्दीको सशक्त सन्देश दिएका छन्। आइतबार कोहलपुर–११ स्थित सहिद स्मृति भवनमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले नयाँ एकीकृत संरचनाले कम्युनिस्ट आन्दोलनलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।


नेता ज्वालाले ‘नेपाली कम्युनिस्ट पार्टी’ नामलाई देशको माटो, हावापानी र जनभावनाअनुरूप मूलप्रवाहको राजनीतिक विकल्पको रूपमा अघि सारिएको बताए। कार्यकर्तालाई नाम वा चुनाव चिन्हमा भ्रमित नहुन आग्रह गर्दै उनले भने, “रातो पाँच–कुने तारा नै कम्युनिस्टहरूको मूल पहिचान हो, यही हाम्रो गौरव हो।”
उहाँले अब चीन र भारतका कम्युनिस्ट पार्टीहरूजस्तै नेपालमा पनि एउटै छातामुनि सबै सच्चा कम्युनिस्टहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए। “निर्वाचन आयोगमा ‘नेपाली कम्युनिस्ट पार्टी’ दर्ता भइसकेको छ, अब एउटै ध्येयसहित अघि बढ्नुपर्छ,” ज्वालाले जोर दिए।
कार्यक्रममा केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुँसेन खान, जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’लगायत नेताहरू सहभागी थिए। शुभकामना मन्तव्य दिँदै न्यौपाने र खानले पार्टी एकताको आवश्यकता तथा संगठन मजबुतीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए।
सम्बोधनका क्रममा ज्वालाले नेकपा एमालेसँग समेत वर्तमान परिस्थितिमा एकताको सम्भावना रहेको उल्लेख गर्दै कार्यकर्तालाई “कुनै भ्रममा नपरी गोलबन्ध हुँदै अघि बढ्नुस्” भनी आह्वान गरे।
कार्यक्रमको सञ्चालन नेपाली कम्युनिस्ट पार्टी कोहलपुर अध्यक्ष अबिरल खड्काले गरेका थिए भने कार्यक्रमबारे जानकारी समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले प्रदान गरेका थिए।





