मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले दोस्रो पटक आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। नगरप्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै जिल्लामै पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक गरेका भामले यसपटक जेन–जि समूहको सहकार्यमा आफ्नै कार्यकक्षमा पुनः सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
सार्वजनिक विवरणअनुसार नगरप्रमुख भामसँग हाल १४ तोला सुन, २० तोला चाँदी, ११ लाख रुपैयाँ बैंक ब्यालेन्स तथा नगद मौज्दात रहेको छ। साथै विभिन्न स्थानमा जग्गा रहेको पनि उनले जानकारी दिए।


उनका अनुसार मुगुको साविकको कार्कीवाडा गाविसमा कित्ता नम्बर ५१ को ४२ हजार ३१३ वर्ग मिटर, श्रीनगर गाविसमा कित्ता नम्बर ५ को ५५८ वर्ग मिटर, पिना गाविसमा कित्ता नम्बर ३ को ४ हजार ५५८ वर्ग मिटर तथा सुर्खेतको साविकको लाटिकोइली गाविसमा दुई कित्तामा ३६२ वर्ग मिटर जग्गा रहेको छ।
त्यसैगरी छायाँनाथ रारा नगरपालिका–४ भामबाडा गाउँमा रहेको सात कोठे निजी निवास, गमगढी बजारको आठ कोठे घर र नेपालगञ्जको तीन तले घर आमा लालकली भामको नाममा रहेको बताए। गमगढी बजारकै छ कोठे घर भने श्रीमती अनिता रावलको नाममा रहेको जानकारी दिए।
नगरप्रमुख भामले यी सम्पत्तिमा आफ्नो कुनै व्यक्तिगत हकदाबी नरहेको स्पष्ट पारे। अधिकांश जग्गा तथा घर आमा र परिवारका अन्य सदस्यको नाममा रहेको र ती सम्पत्ति पुर्ख्यौली भएको उनले बताए।
सार्वजनिक सम्पत्ति विवरणअनुसार उनका परिवारसँग तामाका भाँडाकुँडा, हुड्को–ताउलो ११ थान, धार्नी, काँसका भाँडाकुँडा २० थान, अन्य सानातिना सामग्री करिब १०० थान तथा आवश्यकताअनुसार लत्ताकपडा, लिउ र गलैँचा रहेको उल्लेख गरिएको छ।
कार्यक्रममा जेन–जि समूह मुगुका जिल्ला प्रमुख राजेन्द्र शाहीले नगरमा भएका विकास निर्माणसँग सम्बन्धित अनियमितताबारे नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए।
नगरप्रमुख भामको यो कदमलाई पारदर्शिता र जवाफदेहिताको उदाहरणका रूपमा हेरिएको छ।





