कैलाली । कैलालीको चुरे क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो भीरबाट खसालेको घटनाको विवाद अन्ततः सहमतिमार्फत टुंगिएको छ।
वन कर्मचारी र टेम्पोधनी घनश्याम धामी तथा उनकी पत्नी धनदेवी धामीबीच अत्तरियास्थित मालाखेती प्रहरी चौकीमा भएको छलफलपछि सहमति जुटेको हो। सहमतिअनुसार वन कार्यालयका कर्मचारीहरूले आपसी रूपमा रकम संकलन गरी पीडित परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरेका छन्।
गत जेठ २९ गते वन क्षेत्रमा राखेर व्यापार गरेको आरोप लगाउँदै वन कर्मचारीहरूले धनदेवी धामीको टेम्पो धकेलेर भीरबाट खसालेका थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले राष्ट्रिय स्तरमै व्यापक चर्चा पाएको थियो।
घटनापछि प्रहरीले जेठ ३० गते अनुसन्धानका लागि १२ जना वन कर्मचारीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा १० जनालाई रिहा गरिएको थियो भने टेम्पो खसाल्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई हिरासतमा राखी मुद्दा प्रक्रिया अघि बढाइएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हिरासतमा रहेका कर्मचारीविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयसम्म पुगेको थियो। तर, क्षतिपूर्ति पाएपछि पीडित पक्षले वन कर्मचारीविरुद्ध दिएको जाहेरी फिर्ता लिने सहमति गरेको छ।
सहमतिसँगै कैलाली प्रहरीको हिरासतमा रहेका सव डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा थुनामुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही ७ हजार रुपैयाँ धरौटीमा रिहा गरेको जनाएको छ।
यस घटनाको समाधान सहमतिमार्फत भए पनि वन कर्मचारीको कार्यशैली र सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारीबारे व्यापक बहस भने अझै जारी रहेको छ।







