नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा करिब डेढ दशकदेखि कुनै शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरमै सञ्चालन हुँदै आएको अवैध औषधि पसलमाथि सरकारी टोलीले कारबाही गरेको छ।
जानकी गाउँपालिका–१, जोगाउगाउँ निवासी ६३ वर्षीय पञ्चलाल भुजुवालाई औषधि ऐन विपरीत अवैध रूपमा औषधि बिक्री–वितरण तथा बिरामीको उपचार गरेको आरोपमा पक्राउ गरिएको हो।


औषधि व्यवस्था विभाग, नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार साहका अनुसार प्रारम्भिक अनुसन्धानबाट भुजुवासँग स्वास्थ्यसम्बन्धी कुनै पनि मान्यताप्राप्त शैक्षिक योग्यता नरहेको खुलेको छ। उनले आफ्नै घरलाई औषधि पसल बनाएर करिब १५ वर्षदेखि लुकिछिपी औषधि बिक्री गर्नुका साथै बिरामीको उपचार गर्दै आएको पाइएको विभागले जनाएको छ।
स्थानीयबाट प्राप्त उजुरीका आधारमा फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार साह, निरीक्षक अमन चौधरी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले भुजुवाको घरमा छापा मारेको थियो।
छापाका क्रममा घरभित्र सञ्चालित अवैध औषधि पसलबाट करिब ४० प्रकारका औषधि रहेको तीन कार्टुन बरामद गरिएको विभागले जनाएको छ। बरामद गरिएका औषधिको गुणस्तर, म्याद तथा कानुनी स्रोतबारे थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका भुजुवालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी औषधि ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
औषधि व्यवस्था विभागले पछिल्लो समय अवैध औषधि पसल तथा ‘झोले चिकित्सक’ विरुद्ध निगरानी र अनुगमनलाई तीव्र बनाएको जनाएको छ।
यद्यपि स्वास्थ्य अधिकारकर्मीहरूले छिटफुट कारबाही मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूले ग्रामीण क्षेत्रमा नियमित अनुगमन, जनचेतना अभिवृद्धि, कडा कानुनी कार्यान्वयन तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारलाई सँगसँगै अघि बढाए मात्र यस्ता अवैध गतिविधि प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने बताएका छन्।





