काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरो तथा विभिन्न प्रहरी अधिकृतहरूको नाम दुरुपयोग गर्दै सर्वसाधारणलाई भ्रामक तथा धम्कीपूर्ण ई–मेल पठाएर ठगी गर्ने प्रयास भइरहेको पाइएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार सूचना जारी गर्दै आफ्नो नाम प्रयोग गरी “तपाईंको इन्टरनेट आईपीबाट अनुपयुक्त तथा अश्लील वेबसाइटहरू हेरिएको पाइएकाले कानुनी कारबाही गरिनेछ” भन्ने आशयका ई–मेलहरू पठाइएको जानकारी दिएको हो।


ब्यूरोका अनुसार पछिल्लो समय सर्वसाधारणको ई–मेलमा अंग्रेजी भाषामा धम्कीपूर्ण सन्देश पठाई कानुनी कारबाहीको त्रास देखाएर ठगी गर्ने प्रयास भइरहेको भन्दै यस्ता ई–मेलको विश्वास नगर्न आग्रह गरिएको छ।
साइबर ब्यूरोले नेपाल प्रहरीले सधैं nepalpolice.gov.np डोमेन भएको आधिकारिक ई–मेल मात्र प्रयोग गर्ने स्पष्ट पारेको छ। ब्यूरोको आधिकारिक ई–मेल ठेगाना cyberbureau@nepalpolice.gov.np रहेको र यसबाहेक अन्य ठेगानाबाट आउने ई–मेल आधिकारिक नहुने जनाएको छ।
यस्तै, ई–मेल वा इन्टरनेटका अन्य माध्यमबाट प्राप्त हुने संवेदनशील वा धम्कीपूर्ण सामग्रीलाई प्रमाणबिनै विश्वास नगर्न तथा त्यसको सत्यतथ्य (फ्याक्ट चेक) गरेर मात्र प्रतिक्रिया दिन साइबर ब्यूरोले अनुरोध गरेको छ।
विश्वव्यापी रूपमा फिसिङ (Phishing) ई–मेलहरू साइबर अपराधको प्रमुख माध्यम बन्दै गइरहेको उल्लेख गर्दै ब्यूरोले यस्ता शंकास्पद ई–मेल प्राप्त भएमा तुरुन्तै “Mark as Spam” वा “Report Spam” विकल्प प्रयोग गर्न र कुनै पनि लिंक खोल्ने वा व्यक्तिगत विवरण उपलब्ध गराउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
साइबर ब्यूरोले आफ्नो नाम दुरुपयोग गरी ठगी गर्ने व्यक्तिमाथि निगरानी र अनुसन्धान भइरहेको जनाएको छ। साथै, शंकास्पद साइबर गतिविधिबारे जानकारी भएमा तत्काल साइबर ब्यूरोमा सम्पर्क गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।





