काठमाडौं । प्रहरी प्रधान कार्यालयले काज तथा पहुँचका आधारमा अनुकूल कार्यालयमा बस्ने प्रवृत्तिविरुद्ध कडाइ थालेको छ। विशेष व्यक्तिको सुरक्षामा खटिएका प्रहरी, चालक तथा ट्राफिक प्रहरीलाई एक घन्टाभित्र सम्बन्धित दरबन्दीमा फर्काउन देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ।


प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय तथा सातै प्रदेश प्रहरी कार्यालयलाई परिपत्र गर्दै विशेष व्यक्तिको सुरक्षामा खटिएका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ), सवारी चालकको जिम्मेवारीमा रहेका प्रहरी तथा ट्राफिक व्यवस्थापनमा खटिएका सबै प्रहरी कर्मचारीलाई एक घन्टाभित्र सम्बन्धित दरबन्दीमा रमाना गर्न भनेको हो।
प्रहरी प्रधान कार्यालयका डीआईजी अबिनारायण काफ्लेद्वारा जारी परिपत्रमा सम्बन्धित प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता पठाई उनीहरूको स्थानमा रिजर्भ (गण/गुल्म) कार्यालयबाट तालिमप्राप्त प्रहरी कर्मचारी खटाई त्यसको विवरण पठाउन निर्देशन दिइएको उल्लेख छ।
प्रहरी संगठनभित्र लामो समयदेखि ठूलो संख्यामा प्रहरी कर्मचारी दरबन्दीबाहिर विभिन्न कार्यालयमा कार्यरत रहेको तथा पहुँचका आधारमा कतिपय वर्षौंदेखि एउटै स्थानमा कार्यरत रहने प्रवृत्ति रहेको बताइन्छ। यही अवस्थालाई अन्त्य गर्दै प्रहरी प्रधान कार्यालयले दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्ने अभियान सुरु गरेको स्रोतले जनाएको छ।





