कोहलपुर ।ॐ शान्ति कोहलपुर–१० को आयोजनामा शुक्रबार त्रिभुवन माध्यमिक विद्यालय, कोहलपुरका प्लस–टु तहमा अध्ययनरत करिब १५० जना विद्यार्थीलाई मोटिभेसनल तथा जीवन व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ।
कार्यक्रमको अध्यक्षता ब्रह्मकुमारी मुना दिदीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ सहभागी हुनुभएको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जीवन प्रबोधन तथा माइन्ड मेमोरी एक्सपर्ट डा. राजयोगी एल.पी. पोखरेलले मुख्य प्रशिक्षकका रूपमा विद्यार्थीहरूलाई जीवन व्यवस्थापन, सकारात्मक सोच, स्मरणशक्ति विकास, आत्मविश्वास अभिवृद्धि तथा अध्ययनलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा ॐ शान्ति कोहलपुर शाखाकी प्रमुख ब्रह्मकुमारी इन्दिरा दिदी, ॐ शास्त्री, त्रिभुवन माध्यमिक विद्यालयकी शिक्षिका प्रमिला रजौरे तथा समाजसेवी खेमराज शाह अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
प्रशिक्षण कार्यक्रममा सहभागी विद्यार्थीहरूले जीवनमा सकारात्मक सोच, अनुशासन, ध्यान (राजयोग मेडिटेसन) तथा अध्ययनमा सफलता हासिल गर्न आवश्यक सीपबारे उपयोगी जानकारी प्राप्त गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा सकारात्मक सोचको विकास, मानसिक क्षमता अभिवृद्धि तथा भविष्यप्रति आत्मविश्वास जगाउनु रहेको आयोजक ॐ शान्ति कोहलपुरले जनाएको छ।









