कोहलपुर। निम्बल एकेडेमी, कोहलपुरले शैक्षिक सत्र २०८३ अन्तर्गत कक्षा १ देखि १० सम्मका अभिभावकहरूलाई समेटेर कक्षागत अभिभावक अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।


विद्यालयका अनुसार कार्यक्रम विभिन्न मितिमा चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो। जेठ ३१ गते कक्षा ८ र १०, असार ७ गते कक्षा ७ र ९, असार २० गते बिहान कक्षा १ र २ तथा दिउँसो कक्षा ३ र ४, र असार २१ गते कक्षा ५ र ६ का अभिभावकसँग अन्तर्क्रिया सम्पन्न गरिएको हो।
अन्तर्क्रिया कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक प्रगति, अनुशासन, नियमित उपस्थिति, संस्कार र सीपसहितको शिक्षाको आवश्यकता, आन्तरिक मूल्याङ्कनमा अभिभावकको भूमिका, आगामी शैक्षिक कार्यक्रम तथा विद्यालय–अभिभावकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए भने विद्यालय प्रशासनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावक र विद्यालयबीच निरन्तर समन्वय आवश्यक रहेकोमा जोड दिएको थियो।
विद्यालय परिवारले कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अभिभावकप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, विभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसकेका अभिभावकलाई विद्यालयमा सम्पर्क गरी अनिवार्य रूपमा अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।
विद्यालयका अनुसार विद्यार्थीको शैक्षिक उपलब्धि, सकारात्मक व्यवहार र समग्र व्यक्तित्व विकासका लागि अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहने भएकाले आगामी दिनमा पनि यस्ता अन्तर्क्रियामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।






