काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्रसंघ (यूएन) को प्रधान कार्यालय, न्यूयोर्कमा आयोजना हुने पाँचौं United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ। विश्वका विभिन्न मुलुकका प्रहरी प्रमुखहरू सहभागी हुने उक्त सम्मेलनलाई अन्तर्राष्ट्रिय शान्ति सुरक्षा, शान्ति मिसन तथा आधुनिक प्रहरी व्यवस्थापनका दृष्टिले अत्यन्त महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।
प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा नेपालबाट उच्चस्तरीय सुरक्षा टोली सम्मेलनमा सहभागी हुन गएको हो। टोलीमा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल तथा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दीप शमशेर जबरा पनि सहभागी हुनुहुन्छ। यसले नेपालका दुवै प्रमुख सुरक्षा निकाय अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य र अनुभव आदानप्रदानमा सक्रिय रहेको सन्देश दिएको छ।
संयुक्त राष्ट्रसंघको आयोजनामा हुने यस शिखर सम्मेलनमा विश्वव्यापी सुरक्षा चुनौती, शान्ति स्थापना मिसनमा प्रहरीको भूमिका, प्रविधिमैत्री अपराध अनुसन्धान, आतंकवाद नियन्त्रण, साइबर अपराध, मानव अधिकार संरक्षण तथा अन्तर्राष्ट्रिय प्रहरी सहकार्यका विविध विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल प्रहरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा लामो समयदेखि उल्लेखनीय योगदान दिँदै आएको संस्था हो। नेपाली प्रहरी अधिकृतहरूको व्यावसायिक दक्षता, अनुशासन र कार्यसम्पादन अन्तर्राष्ट्रिय स्तरमा प्रशंसित रहँदै आएको सन्दर्भमा आईजीपी कार्कीको सहभागितालाई नेपालको प्रहरी संगठनको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप मजबुत बनाउने अवसरका रूपमा समेत हेरिएको छ।
प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा रहेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा अन्य वरिष्ठ प्रहरी अधिकृतहरूले सफल सहभागिताको शुभकामना व्यक्त गर्दै औपचारिक बिदाइ गर्नुभएको थियो।
सुरक्षा विश्लेषकहरूका अनुसार यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले नेपाल प्रहरीलाई विश्वस्तरीय अभ्यास, नयाँ प्रविधि, रणनीतिक सोच तथा अन्तरदेशीय अपराध नियन्त्रणका सफल मोडेलहरूबारे प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्नेछ। त्यसको प्रत्यक्ष लाभ नेपालको आन्तरिक शान्ति सुरक्षा, अपराध अनुसन्धान र संस्थागत क्षमता अभिवृद्धिमा समेत पर्ने विश्वास गरिएको छ।







