Tuesday, October 27, 2026

काठमाडौं । नेपाल प्रहरीले जिल्ला तहको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, समन्वयात्मक र उत्तरदायी बनाउन कमान्ड संरचनामा महत्वपूर्ण परिवर्तन गरेको छ। प्रहरी प्रधान कार्यालयले परिपत्र जारी गर्दै अबदेखि देशभरका जिल्ला ट्राफिक प्रहरी कार्यालय सम्बन्धित जिल्ला प्रहरी प्रमुखको प्रत्यक्ष कमान्ड, नियन्त्रण तथा निर्देशनमा सञ्चालन हुने व्यवस्था लागू गरेको हो।

यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मातहत सञ्चालन हुँदै आएका थिए। ट्राफिक प्रहरीको सरुवा, खटनपटन, प्रशासनिक व्यवस्थापन तथा परिचालनसम्बन्धी निर्णय पनि सोही कार्यालयबाट हुने व्यवस्था थियो।

नयाँ व्यवस्थाअनुसार अब जिल्ला प्रहरी प्रमुखले ट्राफिक प्रहरीको दैनिक परिचालन, ट्राफिक व्यवस्थापन, समन्वय, शान्ति सुरक्षा तथा जिल्लास्तरीय सुरक्षा रणनीतिमा प्रत्यक्ष नेतृत्व गर्नेछन्। यसबाट ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनलाई एकीकृत रूपमा सञ्चालन गर्न थप सहज हुने प्रहरी स्रोतले जनाएको छ।

यसअघि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय फरक–फरक कमान्ड संरचनामा सञ्चालन हुँदा समन्वय अभाव, जिम्मेवारी बाँडफाँट तथा आकस्मिक परिचालनका क्रममा व्यावहारिक समस्या देखिने गरेका थिए। नयाँ निर्णयले ती समस्या न्यूनीकरण गर्दै जिल्लास्तरमा एकीकृत कमान्ड प्रणालीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले यससम्बन्धी परिपत्र सम्बन्धित सबै निकायमा पठाइसकेको जनाएको छ। नयाँ व्यवस्था तत्काल कार्यान्वयनमा आइसकेको प्रहरीको भनाइ छ।

यद्यपि, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा भने यो व्यवस्था लागू हुने छैन। ती जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू यथावत् काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकै मातहत सञ्चालन हुने प्रहरी प्रधान कार्यालयले स्पष्ट गरेको छ।

नयाँ व्यवस्थालाई जिल्ला तहमा ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा र आकस्मिक परिचालनलाई थप प्रभावकारी तथा समन्वयात्मक बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech