काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।


पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार चौधरीले आकर्षक तलबसहित क्यानडा पठाइदिने आश्वासन दिँदै पीडितहरूबाट ठूलो रकम असुलेका थिए। रकम लिइसकेपछि उनी सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
उजुरीका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






