Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

कोहलपुर, बाँके। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती (भानुजयन्ती) को अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरको आयोजनामा खुला रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ।

नेपाली भाषा, साहित्य, संस्कार तथा सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्दै आमपाठकमा पठन र वाचन संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पुस्तकालयले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ महानन्द ढकालले आदिकवि भानुभक्त आचार्यको योगदान नेपाली भाषा, साहित्य, कला र संस्कृतिका लागि अनुपम रहेको बताए। उनले भानुभक्तको योगदानलाई राष्ट्रिय सीमाभन्दा बाहिर विश्व समुदायसम्म पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै पठन संस्कृतिको विकासका लागि पुस्तकालय र साहित्यिक गतिविधिहरूको महत्त्वमा जोड दिए।

कार्यक्रमका अध्यक्ष तथा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माले समाजमा पठन संस्कृति, नैतिक मूल्य, संस्कार तथा सांस्कृतिक चेतनामा आएको ह्रासलाई ध्यानमा राख्दै यस्ता कार्यक्रम आयोजना गरिएको बताए। उनले पुस्तकालयलाई सबै उमेर समूहका लागि ज्ञान, सिकाइ र व्यक्तित्व विकासको साझा केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

अध्यक्ष शर्माले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर जनसाधारणसम्म पुर्‍याएको भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै महर्षि वाल्मीकिप्रति पनि सम्मान व्यक्त गर्नुपर्ने बताए। उनले कुनै पनि कार्यक्रमको सफलता सहभागीको सङ्ख्याले मात्र नभई समाजमा पार्ने सकारात्मक प्रभावबाट मापन हुने उल्लेख गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

निर्णायक समिति संयोजक तथा उपप्राध्यापक डा. हरिप्रसाद तिमिल्सिनाले भानुभक्त आचार्यको जीवन र साहित्यिक योगदानबारे चर्चा गर्दै भारतको आसाम राज्यमा भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा दिइने गरेको जानकारी गराए। उनले नेपाल सरकारले पनि भानुजयन्तीलाई राष्ट्रिय सम्मानका साथ सार्वजनिक बिदाका रूपमा मनाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा कोहलपुरका शाखा प्रमुख रविलाल मिजार, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा निर्णायक डा. पुष्कर रिजाल, समाजसेवी बलबहादुर खड्का ‘अविरल’, गायक प्रभात सुवेदी, निर्णायक नारायणप्रसाद शर्मा, धारा साहित्यका अध्यक्ष ईश्वरी रिजाल ‘उल्कापात’, पुस्तकालयका पूर्वअध्यक्ष जयश्वर पौडेल र लिलबहादुर रानालगायत पत्रकार, साहित्यकार, समाजसेवी तथा विभिन्न विद्यालयका शिक्षक–विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा शोभना देवकोटा प्रथम, सुप्रभा उपाध्याय द्वितीय तथा शिवशक्ति माध्यमिक विद्यालयकी छात्रा सदिक्षा भट्टराई तृतीय भएकी थिइन्। विजेताहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको प्रारम्भमा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम उपसमिति संयोजक निर्मल आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए। स्वस्तिवाचन तथा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रविन्द्र सुवेदीले गरेका थिए। j

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech