काठमाडौं। पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा “ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनमा चिट काटे बापत जरिवानाको २५ प्रतिशत रकम पाउँछन्” भन्ने अभिव्यक्ति र त्यससम्बन्धी प्रकाशित समाचारप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उक्त दाबी पूर्ण रूपमा भ्रामक, आधारहीन र तथ्यविपरीत रहेको स्पष्ट पारिएको छ। प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी मात्र निर्वाह गर्ने गरेको र जरिवानाबाट कुनै पनि प्रहरी कर्मचारीले व्यक्तिगत रूपमा प्रतिशत वा कमिसन प्राप्त नगर्ने जनाएको छ।
प्रहरीका अनुसार ट्राफिक नियम उल्लङ्घनबाट उठ्ने राजस्व नेपाल सरकारको सम्बन्धित सरकारी कोषमा जम्मा हुने व्यवस्था रहेको छ। यस प्रक्रियामा ट्राफिक प्रहरी वा अन्य कुनै प्रहरी कर्मचारीलाई व्यक्तिगत आर्थिक लाभ हुने कानुनी व्यवस्था नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल प्रहरीले तथ्यहीन र अपुष्ट अभिव्यक्तिले प्रहरी संगठनको व्यावसायिक छवि, सेवाप्रतिको जनविश्वास तथा कानुन कार्यान्वयन प्रक्रियामै नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यस्ता सामग्री प्रकाशन तथा प्रसारण गर्दा सत्यतथ्यको पुष्टि गर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
प्रहरीले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै जिम्मेवार पत्रकारिता र तथ्यमा आधारित सूचना सम्प्रेषणको आवश्यकता औँल्याएको छ। कुनै पनि सूचना सार्वजनिक गर्नु अघि आधिकारिक स्रोतबाट पुष्टि गर्नुपर्नेमा पनि जोड दिएको छ।
यस्तै, नागरिकलाई पनि सामाजिक सञ्जालमा आएका अपुष्ट सूचना वा अफवाहलाई सत्य ठानी प्रचारप्रसार नगर्न तथा आधिकारिक निकायबाट जारी गरिएका सूचनामा विश्वास गर्न आग्रह गरिएको छ।
नेपाल प्रहरीले पारदर्शी, निष्पक्ष र कानुनसम्मत सेवा प्रवाहप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै यस्ता भ्रामक प्रचारले प्रहरी–नागरिक विश्वासको सम्बन्ध कमजोर पार्ने भएकाले सबै पक्षलाई जिम्मेवार बन्न अनुरोध गरेको छ।







