बुटवल। रुपन्देही प्रहरीले ‘अपरेशन चार्ली’ अन्तर्गत नक्कली नेपाली नोट छपाइ तथा कारोबारमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुटवल–११ की ३६ वर्षीया गंगाकुमारी पुर्वछाने, पोखरा–१ का किरण कृष्ण तिवारी, भक्तपुर चाँगुनारायण–१ का रामचन्द्र खत्री, कपिलवस्तु बाणगंगा–२ का सञ्जय थारू, दोलखा शैलुङ–४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुडीका ४९ वर्षीय बासुमित्र आनन्द रहेका छन्।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार बुटवलकी गंगाकुमारी पुर्वछानेले एक सेवाग्राहीसँग क्यूआरमार्फत २ हजार १०० रुपैयाँ लिएर एक हजार दरका दुई वटा नक्कली नोट दिएको उजुरीपछि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा पुर्वछानेबाट पोखराका किरण कृष्ण तिवारीको संलग्नता खुलेको र तिवारी पक्राउ परेपछि अनुसन्धान भक्तपुरका रामचन्द्र खत्रीसम्म पुगेको प्रहरीले जनाएको छ।
त्यसपछि प्रहरीले बुटवल उपमहानगरपालिका–१३, जितगढीस्थित भाडाको कोठामा छापा मार्दा नक्कली नेपाली नोट उत्पादन गर्ने गोप्य केन्द्र सञ्चालन भइरहेको फेला परेको जनाएको छ।
प्रहरीले तिवारीको साथबाट एक हजार दरका ४७८ थान र पुर्वछानेको घरबाट १०३ थान नक्कली नेपाली नोट बरामद गरेको छ। साथै फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, विशेष केमिकल, ब्ल्याक पेपर, नक्कली नोट बनाउन प्रयोग हुने कागज तथा मोबाइल फोनलगायत सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै जनाविरुद्ध मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।






