Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

चिसापानी। सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कोहलपुर डेन्टल हस्पिटलले कर्णाली चिसापानीमा एकदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेपाल प्रहरीमा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गरी बिहीबार आयोजित शिविरबाट करिब २६५ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

शिविरमा सहभागीहरूको दाँत, मुख तथा गिजाको विस्तृत परीक्षण, आवश्यक उपचार, स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो। साथै रक्तचाप परीक्षण, आधारभूत स्वास्थ्य जाँच र आवश्यक स्वास्थ्य परामर्शसमेत उपलब्ध गराइएको थियो।

कोहलपुर डेन्टल हस्पिटलका प्रबन्ध निर्देशक (एमडी) गजेन्द्र शाहीका अनुसार स्वास्थ्य परीक्षणका क्रममा अधिकांश सेवाग्राहीमा दाँतमा किरा लाग्ने, दाँत अत्यधिक क्षतिग्रस्त भई निकाल्नुपर्ने, रुट क्यानाल उपचार आवश्यक पर्ने तथा गिजासम्बन्धी विभिन्न समस्या देखिएका थिए। यस्ता बिरामीलाई आवश्यक उपचारसँगै थप उपचार प्रक्रियाबारे परामर्शसमेत प्रदान गरिएको उनले जानकारी दिए।

उनले मुख तथा दाँतका रोग समयमै पहिचान गरी उपचार नगर्दा मुखको क्यान्सरसहित विभिन्न जटिल स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले सहभागीहरूलाई त्यसबारे सचेत गराइएको बताए। नियमित मुख स्वास्थ्य हेरचाह, सही तरिकाले दाँत सफा गर्ने विधि, समय–समयमा दन्त परीक्षण गराउने आवश्यकता तथा स्वस्थ जीवनशैली अपनाउने विषयमा पनि जानकारी दिइएको थियो।

शिविरमा जनरल फिजिसियन डा. चेतन न्यौपाने र डेन्टल सर्जन डा. आनन्दी यादवको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सक टोलीले स्वास्थ्य परीक्षण, दन्त उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो।

कार्यक्रममा सहभागीहरूले यस्ता निःशुल्क स्वास्थ्य शिविरले समयमै रोगको पहिचान र उपचारमा सहयोग पुग्नुका साथै भविष्यमा हुन सक्ने जटिल स्वास्थ्य समस्याबाट बच्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै सीमित रहेको अवस्थामा यस्ता कार्यक्रमले स्थानीय समुदाय र राष्ट्रसेवक कर्मचारीलाई प्रत्यक्ष लाभ पुगेको उनीहरूको भनाइ थियो।

एमडी गजेन्द्र शाहीले सामाजिक उत्तरदायित्वलाई संस्थाको प्रमुख प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तर सञ्चालन गरिने बताए। उनले ग्रामीण तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रका नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने, मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र समयमै रोग पहिचान गरी उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिए।

कोहलपुर डेन्टल हस्पिटलले उपचारसँगै रोगको रोकथाम, स्वास्थ्य शिक्षा र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech