काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को १६औँ वार्षिकोत्सव शुक्रबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
समारोहमा आईजीपी कार्कीले ब्यूरोका पूर्व प्रमुखलाई सम्मानपत्र प्रदान गर्नुका साथै ब्यूरोमा कार्यरत रहँदा उल्लेखनीय योगदान दिएका अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अपराध अनुसन्धानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याएका विभिन्न निकायका व्यक्तित्वलाई कदरपत्र प्रदान गरेका थिए। यसै अवसरमा सीआईबीद्वारा प्रकाशित ‘सीआईबी म्यागजिन’ को पनि लोकार्पण गरिएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले स्थापनाकालदेखि जघन्य, संगठित, आर्थिक तथा जटिल अपराध अनुसन्धानमा सीआईबीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। उनले आगामी दिनमा निष्पक्ष, विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाका रूपमा नागरिकको विश्वास जित्दै राष्ट्रको न्याय प्रणालीलाई थप सुदृढ बनाउन ब्यूरोलाई शुभकामना दिए।
उनले ‘अनुसन्धान अनि मात्र पक्राउ’ भन्ने अनुसन्धानको न्यूनतम मापदण्डलाई आत्मसात् गर्दै तटस्थता, निष्पक्षता र उच्च व्यावसायिकता कायम राख्नुपर्नेमा जोड दिए। बदलिँदो अपराध प्रवृत्तिअनुसार जघन्य, संगठित, अन्तरदेशीय, उच्च जटिल तथा आर्थिक अपराध अनुसन्धानमा ब्यूरो अझ प्रभावकारी रूपमा परिचालित हुनुपर्ने उनको भनाइ थियो।
आईजीपी कार्कीले अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ब्यूरोको क्षमता अभिवृद्धि, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए। डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल तथा सीमापार अपराध अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गर्दै सीआईबीले आफ्नो आदर्श वाक्य ‘विश्वसनीयता, निष्पक्षता र साहस’ लाई कायम राख्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री तथा अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी र नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीले धन्यवाद मन्तव्य दिएका कार्यक्रममा प्रहरी नायव महानिरीक्षक माधवप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।
समारोहमा अवकाशप्राप्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक, अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, विभिन्न मन्त्रालयका सहसचिव, सहन्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षक, अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, आमन्त्रित अतिथि तथा प्रहरी अधिकृत एवं जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






