काठमाडौं । ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र घरेलु हिंसापीडित बिनु यादवलाई शनिबार सिंहदरबारस्थित गृह मन्त्रालय प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ।
आफ्ना माग तथा समस्याबारे सम्बन्धित निकायसँग छलफल गर्न गृह मन्त्रालय पुगेका उनीहरूलाई मन्त्रालयभित्र प्रवेश गर्न नदिएपछि गृह मन्त्रालयको मूल गेटमै घन्टी बजाउँदै सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए।


केहीबेर गेटअगाडि बसेर प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको थियो। राजपुत र यादव विगत केही दिनदेखि आफ्ना माग सम्बोधनको माग गर्दै सिंहदरबारको मूल गेटअघि निरन्तर धर्ना दिँदै आएका छन्।
यसअघि असार २९ गते पनि उनीहरू गृह मन्त्रालयमा आफ्ना समस्या राख्न सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको थियो। उनीहरूले सांसदमार्फत प्रवेश पासको व्यवस्था भएको दाबी गरे पनि प्रहरीले माथिल्लो निकायको निर्देशन भन्दै प्रवेश गर्न नदिएको बताएका छन्।
त्यसदिन पनि सिंहदरबारभित्र जान नपाएपछि दुवैले दक्षिण गेटमा वर्षामै धर्ना दिएका थिए। बिनु यादव सडकमै सुतेर विरोधमा उत्रिएकी थिइन् भने निहारिका राजपुत सानो बच्चा च्यापेर गेटमै बसेकी थिइन्।
पछि आवश्यक समन्वयका लागि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबार पठाएको थियो।
राजपुत र यादवले आफ्ना मागको सुनुवाइ नभएको भन्दै सम्बन्धित निकायसँग प्रत्यक्ष संवादको माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन्।






