सर्लाही । प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकको सकुशल उद्धार गरिएको छ।
गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका थिए। टावरमा पुगेपछि उनले आफ्ना एक साथीलाई फोन गरेर आफू माथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे सुरक्षा निकायलाई खबर पुगेको थियो। प्रहरीले उनी रातिकै समयमा टावरमा चढेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।
टावरमा रहेका हुसैनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न पाउनुपर्ने माग राख्दै अन्यथा टावरबाट हामफाल्ने चेतावनी दिएका थिए। त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारका लागि परिचालन गरिएको थियो।
उद्धार अभियानका क्रममा प्रहरीले उनका बुवा र दाजुलाई घटनास्थलमा बोलाएर हुसैनसँग टेलिफोनमार्फत संवाद गराएको थियो। परिवारको सम्झाइ–बुझाइपछि उनी सुरक्षित रूपमा टावरबाट तल ओर्लिएका हुन्।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार परिवारसँगको संवादपछि हुसैन सकुशल टावरबाट ओर्लिएका हुन्। उद्धारपछि उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार हुसैन सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत छन्। उनी र सोही क्याम्पसमा अध्ययन गर्ने एक युवतीबीच प्रेम सम्बन्ध रहेको बताइए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








