काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी जवान मनिषा सुवेदी असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएकी छन्।


कार्यालयले उत्कृष्ट कार्यसम्पादन, अनुशासन, कर्तव्यनिष्ठा तथा व्यावसायिक दक्षताको मूल्यांकन गर्दै सुवेदीलाई असार महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको जनाएको छ।
कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले प्रहरी जवान सुवेदीलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेका हुन्। कार्यालयले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन तथा व्यावसायिक मनोबल अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक महिना ‘बेस्ट पुलिस अफ द मन्थ’ छनोट गर्दै आएको छ।





