काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्डको बैंककमा आयोजित ‘एफबीआई क्षेत्रीय सम्मेलन अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’ मा सहभागी भई बुधबार स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई निमित्त प्रहरी महानिरीक्षक राजन अधिकारी, प्रहरी अतिरिक्त महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।
नेपाल प्रहरीका अनुसार सम्मेलनमा स्क्याम सेन्टर (ठगी सञ्चालन केन्द्र), अन्तरदेशीय संगठित अपराध तथा यस्ता अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य, सुरक्षा रणनीति र समन्वयका विषयमा छलफल भएको थियो।
यसअघि आईजीपी कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा असार २३ र २४ गते आयोजित पाँचौँ युनाइटेड नेशन्स चिफ अफ पुलिस समिट (UNCOPS) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए। उक्त समिटमा उनीसँगै सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पनि सहभागी भएका थिए।
अमेरिकाबाट स्वदेश फर्किएलगत्तै आईजीपी कार्की थाइल्यान्ड प्रस्थान गरेका थिए। बैंकक सम्मेलनमा सहभागिता पूरा गरी उनी बुधबार नेपाल फर्किएका हुन्।







