कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं. ३ को वडा कार्यालयमा तालाबन्दी गरिएको तीन दिन बितिसक्दा पनि जनप्रतिनिधि तथा कर्मचारीहरू सम्पर्कमा आएका छैनन्। वडा अध्यक्ष र वडा सचिव लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेपछि रुष्ट बनेका स्थानीयवासीले कार्यालयमा तालाबन्दी गरेका हुन्।
कार्यालय ठप्प भएपछि विगत तीन दिनदेखि वडाबाट प्रवाह हुने सम्पूर्ण प्रशासनिक सेवा पूर्ण रूपमा ठप्प बनेको छ। जसका कारण सामान्य सिफारिसदेखि लिएर नागरिकता सिफारिस र सामाजिक सुरक्षा भत्ता नवीकरणजस्ता अत्यावश्यक कामका लागि वडा कार्यालय पुग्ने सर्वसाधारण नागरिक तथा सेवाग्राहीहरूले ठूलो सास्ती भोग्नु परेको छ।
स्थानीयहरूका अनुसार वडा अध्यक्ष र वडा सचिव विगत ५–६ दिनदेखि नियमित रूपमा कार्यालयमा अनुपस्थित रहँदै आएका थिए। कार्यालयमा जनप्रतिनिधि र सचिव नहुँदा नागरिकहरू सिफारिस गराउन र हस्ताक्षर गराउन वडा अध्यक्षको घरसम्मै धाउन बाध्य भएका थिए।
उपस्थित नहुने र नागरिकलाई सास्ती दिने प्रवृत्ति बढ्दै गएपछि स्थानीय नागरिकहरूले २०८१/०४/०५ गते (विज्ञप्ति अनुसार) एक विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष र वडा सचिव कार्यालयमा उपस्थित नभएसम्मका लागि भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए।
तालाबन्दी भएको दुई-तीन दिन भइसक्दा पनि सम्बन्धित जनप्रतिनिधि तथा निकायले यस विषयमा कुनै चासो देखाएका छैनन्। जिम्मेवार व्यक्तिहरू कार्यालयमा उपस्थित नहुँदा र तालाबन्दी खुलाउने पहल नगर्दा टाढा-टाढाबाट सेवा लिन आउने सर्वसाधारण र सेवाग्राहीहरू दैनिक रूपमा रित्तो हात फर्किन बाध्य भएका छन्।







